RUMPUM
animated ellipse animated ellipse

अनलाइन ठगीको रकम भारत पठाउने गिरोहका दुई भारतीयसहित चार जना विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०८३, मंगलवार १६:३५
3
Shares
विराटनगर / नेपाली नागरिकका बैंक खाता तथा डिजिटल वालेट प्रयोग गरी अनलाइन ठगीबाट प्राप्त रकम संकलन गरी भारत हुँदै अन्य देशमा पठाउने गिरोहका चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय र दुई नेपाली नागरिक रहेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत बेतिया जिल्ला, चुरना चौबेक स्थायी घर भई हाल विराटनगर महानगरपालिका–४ एयरपोर्ट मोडमा बस्दै आएका २६ वर्षीय ताहिर हुसेन, बिहारको कठिहार जिल्ला ड्राइभर टोल स्थायी घर भई विराटनगर–४ मा डेरा गरी बस्ने ३६ वर्षीय गुड्डु भनिने मोहम्मद सावुदिन, विराटनगर–१७ का ३१ वर्षीय जफर आलम र विराटनगर–९ का २३ वर्षीय फैयाज खान रहेका छन्।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका व्यक्तिहरूले नेपाली नागरिकसँग मित्रता कायम गरी विभिन्न बैंक तथा डिजिटल वालेटका खाता नम्बर संकलन गर्ने गरेका थिए। आफ्नो खातामा रकम पठाउनुपर्ने तर बैंक खाता नभएको बहाना बनाएर उनीहरूले अरूका बैंक खाता तथा ई–सेवा नम्बर माग्ने र ती खातामार्फत ठगीको रकम संकलन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ठगीबाट प्राप्त रकम खातामा जम्मा भएपछि फैयाज खानले सम्बन्धित खातावालालाई सम्पर्क गरी रकम नगद निकालेर आफूलाई उपलब्ध गराउन लगाउने गरेको अनुसन्धानमा पाइएको छ। रकम उपलब्ध गराएबापत खातावालालाई दुई प्रतिशत कमिसन दिने र बाँकी रकम आफैँले राख्ने गरेको जाहेरीमा उल्लेख छ।

प्रहरीका अनुसार फैयाजले संकलित रकममध्ये १० प्रतिशत आफूले राखेर बाँकी रकम गुड्डु भनिने मोहम्मद सावुदिन र जफर आलमलाई दिने गरेको पाइएको छ। उनीहरूले पनि १० प्रतिशत कमिसन राखी बाँकी रकम ताहिर हुसेनलाई बुझाउने गरेको डीएसपी मिश्रले बताए।

ताहिरले उक्त रकम पाकिस्तानी नागरिकहरूसँगको सम्पर्कमा रहेर उनीहरूको निर्देशनअनुसार भारतका विभिन्न बैंक खातामा जम्मा गराउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

डीएसपी मिश्रका अनुसार अहिलेसम्मको अनुसन्धानमा विभिन्न बैंकका ४० वटा खाता प्रयोग गरी ठगी गरिएको पाइएको छ। ठगीमा नबिल, एनआईसी एसिया, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, ज्योति विकास, माछापुच्छ्रे र लक्ष्मी सनराइज लगायत बैंकका खाताहरू प्रयोग भएको पाइएको छ। त्यस्तै, ई–सेवाका १७ वटा खातासमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ।

उक्त समूहले अनलाइन ठगीबाट प्राप्त रकम विभिन्न व्यक्तिमार्फत भारत पठाउने गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। पक्राउ परेकाविरुद्ध अनलाइन ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको खुलेको छ। अझै लाखौं रुपैयाँ ठगी भएको हुन सक्ने अनुमान गरिएको छ। पीडितहरू जाहेरी दिन आउने क्रम जारी रहेको डीएसपी मिश्रले बताए।

उनका अनुसार पाँच दिनअघि पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गर्दा अनलाइन ठगीमा संलग्न ठूलो गिरोहको संजाल रहेको पाइएको छ। ठगीमा अन्य व्यक्तिहरूको समेत संलग्नता देखिएपछि उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर