AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा छात्रालाई अभद्र व्यवहार गर्ने दुई पक्राउ, भिडियोका आधारमा समातिए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०८३, शुक्रबार १७:५४
126
Shares
विराटनगर / विराटनगरको सार्वजनिक स्थलमा विद्यालय पोशाकमा रहेका छात्राहरूलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो महेन्द्र चोक क्षेत्रमा सडकमा हिँडिरहेका छात्राहरूलाई गिज्याएको र अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय महेशकुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगर बस्ने ३३ वर्षीय अखिलेशकुमार प्रसाद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार दिउँसो करिब १२:३० बजेको समयमा विराटनगर–९ स्थित महेन्द्र चोकमा उत्तरबाट दक्षिणतर्फ मोटरसाइकलमा सवार उनीहरूले विद्यालय पोशाकमा रहेका दुई जना छात्रालाई अभद्र व्यवहार गरेका थिए । सोही घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूको खोजी सुरु गरेको थियो ।

प्रहरीले उनीहरूलाई विराटनगरबाटै नियन्त्रणमा लिएको मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि ‘अभद्र व्यवहार’ मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सार्वजनिक स्थलमा महिला तथा बालबालिकामाथि हुने यस्ता अवाञ्छित गतिविधि विरुद्ध प्रहरीले कडा निगरानी बढाएको डीएसपी मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर