पूर्वाञ्चल खबर
प्राधिकारणले आज आयोजित पत्रकार सम्मेलनमा स्थापना भएको छ वर्षको अवधिमा कोशी प्रदेशकै पहिलो सफल परियोजनाका रूपमा भेडेटार स्काई वाक निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जानकारी प्राधिकरणमा प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले दिए ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीसंग गरिएको आयोजना विकास सम्झौता बापत तीन तहका सरकारलाई एक करोड ५० लाख आम्दानी प्राप्त भएको र त्यसमध्ये कोशी प्रदेश सरकारको हिस्सा रु. ४० लाख रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पहिलो कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारीका ३२ गरी कुल ५१ परियोजनामा करिब रु. १ खर्ब ५७ अर्ब बराबरको लगानीका लागि समझदारीपत्र भएको थियो ।
तीमध्ये अधिकांश निजी क्षेत्रका परियोजनाहरू निर्माण चरणमा प्रवेश गरिसकेको उहाँले बताउनु भयो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्राधिकरणको ३३ औं बैठकको निर्णयले चार परियोजनाका लागि रु. दुई अर्ब ५३ लाखभन्दा बढी लगानी स्वीकृत गरेको जनाएको छ ।
स्वीकृत परियोजनाहरूमा दुहबी नगरपालिकामा फोहरमैला व्यवस्थापन, मल्टी च्याम्बर तथा कोल्ड स्टोरेज एण्ड एग्रो प्रोसेसिङ सेन्टर, बेलका नगरपालिकामा फोहरमैला व्यवस्थापनसहित मल कारखाना तथा पशुपालन र रामधुनी नगरपालिकास्थित रास ताल क्षेत्रको पूर्वाधार विकास तथा सञ्चालन परियोजना रहेका छन्।
पत्रकार सम्मेलनमा चालु आर्थिक वर्ष २०८२/८३ भित्र चारवटा परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न गर्ने लक्ष्यसहित प्रक्रिया अगाडि बढाइएको जानकारी सोही अवसरमा दिइयो ।
नेपालमै पहिलो पटक विराटनगर बसपार्कदेखि रानीसम्मको पाँच किलोमिटर हाइवे क्षेत्रमा ‘पोडवे’ निर्माण तथा सञ्चालनका लागि काठमाडौँ पोड्वे कम्पनी प्रालि काठमाडौँले ले करिब अमेरिकी डलर चार करोड ५१ लाख¬को लागत अनुमानसहित प्रस्ताव पेश गरेको र विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिइएको प्राधिकरणले जनाएको छ।
यसैगरी ग्रीन हाइड्रोजन परियोजना, बायोइथानोल परियोजना, लिम्चुङबुङ केबलकार, राजधानी पर्यटकीय परियोजना, बरुवा बसपार्क तथा बिजनेस कम्प्लेक्स र गुम्बाडाँडा मोनो रेल लगायतका परियोजनाहरू विभिन्न चरणमा रहेको जानकारी उनले दिए।
यी परियोजनाहरू आगामी आर्थिक वर्ष २०८३/८४ भित्र आयोजना विकास सम्झौता सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्राधिकरणले लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार, निकायगत समन्वय तथा क्षमता विकासमार्फत कोशी प्रदेशलाई सार्वजनिक–निजी साझेदारीको ‘हब’ का रूपमा विकास गर्ने प्रयास जारी रहेको जनाएको छ।
यसबाट प्रदेशमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
सो अवसरमा मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले आगामी वर्षमा प्रदेश सरकारले ऐन नियम कानुन निर्माण गरी निजी क्षेत्रलाई उर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्ने जानकारी दिए ।