पूर्वाञ्चल खबर
विद्यालयले वर्षभरि आयोजना गरेका विभिन्न विधाका प्रतियोगिताहरूमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र र शैक्षिक सामग्रीसहित पुरस्कृत गरेको हो ।
विद्यालयले विगतका वर्षदेखि नै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गर्दै आएको प्रिन्सिपल विजय दाहालले जानकारी दिए ।
विद्यार्थीहरूलाई प्रिन्सिपल दाहालसहित स्कुलका अध्यक्ष मदन खतिवडा, व्यवस्थापन निर्देशक पंकज जैन, निर्देशकहरू निरु पौडेल, नवजित प्रधान, मनोज जैन र विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपाने लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
प्रिन्सिपल दाहालका अनुसार खेलकुद सप्ताहअन्तर्गत आयोजित भलिबल, फुटबल, दौड लगायतका प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई सो अवसरमा पुरस्कृत गरिएको थियो ।
विद्यालयले हरेक वर्ष प्रदान गर्ने यस्तो सम्मानले विद्यार्थीहरूमा पढाइका साथै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा रुचि जगाउने स्कुलका अध्यक्ष मदन खतिवडाले बताए । यस प्रकारका गतिविधिले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ ।