प्रहरीकै संरक्षणमा निषेधाज्ञामा तस्करी, प्रहरी मासिक असुलीमा व्यस्त, चार प्रहरी अधिकृत कारवाहीमा

खबर पूर्वाञ्चल, १६ असार २०७८, बुधबार ०८:२७

विराटनगर/ कोरोनाको दोस्रो लहरपछि दुई महिनाभन्दा बढी समयदेखि नेपाल भारत सीमा बन्द छ ।

सर्वसाधारणलाई सीमापारि जान र आउन समस्या भएपनि अबैध कारोबारीका लागि भने मस्ती नै छ ।

सीमामा खटिएका सुरक्षाकर्मी तस्करको हितैसी भएपछि चोरी पैठारी र निकासी निकै मौलाएको छ । चोरी निकासी र पैठारी नियन्त्रणका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक समिति भए पनि तस्करी नियन्त्रणमा खासै भूमिका निर्वाह गरेको देखिएको छैन ।

भारतसँग सीमा जोडिएको सुनसरीमा ६१.९ किलोमटरमा सशस्त्रका एक दर्जन बोर्डर आउट पोस्ट (बिओपी) छन् । नेपाल प्रहरीको पनि सीमा प्रहरी चौकी सोही संख्यामा रहेको छ । सुनसरीको विभिन्न ५१ वटा नाकाबाट मान्छेहरुको आउजाउ हुने गरेको छ । एउटा विओपीमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना भन्दा बढि सुरक्षाकर्मी खटाईएको छ । निषेधाज्ञाका कारण सिमानामा थप सशस्त्र प्रहरी परिचालन गरिए पनि तस्करी भने मोलाएकै छ । नेपाल प्रहरीका अधिृकत र सशस्त्र प्रहरीका गणपतीले जस्तो सुकै दाबी गरेपनि दिउँसै मालसामान ओसारपसार गर्छन् भने ठुला तस्करको समूहले भारतबाट राति कपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स, कस्टमेटिक, पान मसालालगायतका मालसामान चोरी पैठारी गर्दै आएको छ ।

राजश्व संकलनका लागि सिमानामा खटिएका प्रहरी नै तस्करसंग मिलेपछि संगठितरुपमै मदिरा, स्याउ, मटर, मरिचलगायतका सामान भारतीय बजारमा चोरी निकासी भईरहेको छ । भारतबाट अबैधरुपमा आयात भएका सामान नेपाली बजारमा छयाप्छयाप्ती पाइन्छ ।

साना अबैध कारोबारीले स्थानिय प्रहरी र ठुला तस्करले जिल्ला सुरक्षा प्रमुखसंगको मिलोमतोमा चोरी पैठारी र निकासी गर्दै आएका हुन् । जेठ ३० गते सुनसरीको लाही नाका हुदै तस्करी भएको तीन ट्रक चाइनिज स्याउ वीरपुरदेखि भारतीय प्रहरीले पक्राउ गरेपछि प्रहरीको संरक्षणमा हुने गरेको अवैध कारोबारको उदागो भयो । यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए ।

स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित टोलीले प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको छ । अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीका अनुसार अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारवाहीको लागि सिफारिस गरिएको छ ।

घटनापछि सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरी निलम्बनमा परेका थिए । छानविन टोलीले कार्कीलाई दोषी भएको निश्कर्ष निकालेको छ भने थापा र चौधरीलाई निर्दोष देखाएको छ ।

अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश १ प्रहरी कार्यालय विराटनगर रिटका घुमुवा सई किरण मोक्तान दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ । सही घुमुका प्रहरी मोक्तान यस अघि पनि सुनसरी, मोरङ र झापाका तस्करहरुसँग मासिक असुली गर्ने गरेको स्रोतले जानकारी दिएको छ । सो प्रकरणमा प्रहरीका उच्च अधिकारीको पनि संलग्नता रहेको चर्चा रहेकोमा छानविन प्रतिवेदनमा त्यसबारे उल्लेख छैन । यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा गठन गरेको छानविन टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका इञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई दोषी ठहर गरेको छ ।

यस्ता अबैध कारोबारमा सहयोगी भुमिको लागि तस्करले मासिक अतिरिक्त रकम बुझाउदै आएको स्वयम प्रहरीकै भनाईछ । भाण्टाबारी बाहेक सुनसरीको श्रीपुर, लाही, साहेवगञ्ज, अमडुवा, कप्तानगञ्ज नाकादेखि अहिले पनि तस्करी हुने गरेको छ । सुनसरीदेखि सरुवा भएर गत बिहीबार नै एसपी कलम थापा गएपछि र नयाँ आउने एसपी सञ्जय  सिंह थापा कार्यभहाक समाल्न ढिलो आएको मौका छोपेर अहिल पनि तस्करी हुने गरेको छ । अहिले पनि सुनसरी प्रहरीका सादा पोशकका प्रहरी जवान सबाम मिया, रविन्द्र दनुवार र राम कुमार मेहताले महिनावारी असुली गर्ने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको पशासन फाटका प्रहरी निरीक्षक जयदेव माझीले सेटिङ्ग मिलाएपछि सीमा नाका इन्चार्ज पठाउने गरेको सुरक्षा निकायका स्रोतको भनाई छ । उनीहरुले प्रत्येक नाकादेखि तस्करसँग मासिक असुली गर्ने गरेका छन् । सुरक्षा स्रोतले दिएका जानकारी अनुसार तस्करी धन्दामा लागेका हाजी मरुन्दी, सरोज अन्सारी, सम्सेर अन्सारी र मनोज यादव, दुर्गा यादवदेखि मासिक असुली गर्दै आएका छन् । त्यसैगरी उल्टी नाका, भुटाहा नाकाबाट पनि रकम असुल्ने गरेको छ । उनीहरूले सरुवा भएका एसपी थापा गएको र नयाँ एसपी सिंह आउन समय लाग्ने भएकोले तस्करी गर्न दिएर तस्करसँग अहिले पनि हप्ता असुली गर्ने गरेको स्रोतले जानकारी दिएको छ ।

यता सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीले सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा प्रहरी टोली लागि परेको बताए । तस्करीजन्य गतिबिति रोक्न सीमा क्षेत्रमा कडा निगरानी गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५