विराटनगर, ११ चैत / मोरङको डाइनियामा फलफूल बिक्री केन्द्रको शिलान्यास गरिएको छ । गरिबी निवारण कोष नेपाल र नारी विकास संघ, केन्द्रीय कार्यालय विराटनगरको
सहकार्यमा सञ्चालन भइरहेको सहभागितामुलक एकीकृत गरिबी निवारण कार्यक्रम अन्र्तगत डाइनिया ८ मा केन्द्र शिलान्यास भएको हो ।
मनोकामना सामुदायिक संस्थाकी अध्यक्ष आनन्दी देवी गोढीको अध्यक्षतामा भएको एक कार्यक्रमबीच केन्द्रको शिलान्यास गरेको थियो ।
गरिबी निवारण कोष इकाई कार्यालय मोरङका प्रबन्धक किरणकुमार चौधरीले स्थानीय रुपमा गरिबी घटाउन र उनीहरुलाई व्यवसायमा जोड्न सहयोग गरिएको बताए ।
डाइनियागा गाविस सचिव पदमविनोद घिमिरे, काँग्रेस मोरङका मो. निजामुद्दिन, नेकपा एमालेका रुपेश साह, फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य अमरेन्द्र साह, सदभावना पार्टीका कार्तिकलाल पासवान र मुरलीप्रसाद सिंह, नारी विकास संघका कार्यक्रम संयोजक इन्द्रकला भट्टराईलगायत सहभागी थिए ।
कार्यक्रमको कुल बजेट १० लाख १५ हजार २ सय ३० रुपैयाँ रहेको छ । जसमा गरिबी निवारण कोषको अनुदान ७ लाख ७७ हजार ७ सय ७ रुपैयाँ रहेको छ ।
संस्थाकी अध्यक्ष आनन्दीदेवी गोढीले पिछडिएको क्षेत्रमा भएको सहयोगले गरिबीको दर घटाउन सहयोग मिल्ने र पेसा व्यवसाय सञ्चालनमा सकारात्मक प्रभाव परेको बताए ।