खबर पूर्वाञ्चल
कोरोनाको जोखिम बढेकोले कोरोना परीक्षण नगराइकन कसैलाई पनि प्रदेश सभा भवन भित्र प्रवेश निषेध गर्ने तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको बैठकमा सहभागी हुने ९३ सांसद, करिव १ सय प्रदेशसभा सचिवालयका कर्मचारीहरु, साथै २० भन्दा बढी साँसदका चालकहरु ,सुरक्षाकर्मीहरु र संसदीय रिपोर्टिङमा खटिन २० जना पत्रकारहरुको स्वाब संकलन थालिएको सचिवालयले जनाएको छ ।
स्वाब संकलनका लागि आएका प्रदेश १ का संसद सदस्यहरुले जनताको संरक्षणको लागि सम्भावित सवैको स्वाब पीसीआर विधिबाट टेष्ट गर्न सरकारसंग आग्रह गरेका छन् । साँसदहरुले कोरोना भाइरस एक पछि अर्कोमा सर्दै जाने भएकाले सरकारले तल्लो लेवलसम्म गएर टेष्टलाई तीव्रता दिनुपर्ने धारणा राखेका छन् ।
कोरोना परीक्षण पछि प्रदेश बजेट अधिवेशनभर साँसदहरु, कर्मचारी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सतर्कता अपनाउन र भरसक क्वारेन्टाइनमा नै बस्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले आग्रह गरे ।
कोरोना भाईरसको जोखिमबाट बच्न प्रदेश सभाको बैठक हल पनि पुनर्निर्माण गरिएको छ भने सामाजिक दूरी कायम हुने गरी पुराना कुर्सी हटाएर नयाँ कुर्सी राखिएको छ । यो बैठक हलमा करिब ६० जना सांसदहरु मात्र बस्न सक्नेछन् भने बाँकी सांसदहरुका लागि नेकपा संसदीय दलको कार्यालयमा ३३ जना सांसदहरुलाई राखेर भिडियो कन्फरेन्सिङ मार्फत बैठकसंग जोड्ने तयारी गरिएको छ ।
बजेट अधिवेशनमा सहभागी हुने सवैले अनिवार्य माक्स लगाउनु पर्नेछ । प्रदेशसभाको बैठक स्क्रिनमा लाइभ हेर्ने समेत प्रबन्ध मिलाइएको सचिवालयले जनाएको छ ।