पूर्वाञ्चल खबर
आफूलाई ‘अचम्मको सांसद’ भन्दै उनले संसदमा आफ्नो प्रवेश असामान्य परिस्थितिबाट भएको टिप्पणी गरे । बैठकमा बोल्दै डा. पुनले भने, ‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु । बोल्ने तरिका, काम गर्ने तरिका सबै फरक छ । म प्रायः सबैसँग मिल्दिन ।’ उनले आफू समाजसेवी भएको उल्लेख गर्दै भविष्यमा पनि समाजसेवी नै रहने प्रतिबद्धता दोहोर्याए ।
अमेरिकामा अध्ययन पूरा गरी २०४९ साल भदौमा नेपाल फर्किएपछि आफूले ३३ वर्ष समाजसेवामा बिताएको उनले बताए । ‘म समाजसेवी हुँ, समाजसेवी नै रहनेछु,’ उनको भनाइ थियो ।
डा. पुनले आफ्नो राजनीतिक यात्रा योजना अनुसार नभएको पनि बताए । ‘म आउनै नपर्ने मान्छे कसरी यहाँ आइपुगे भन्न चाहन्छु,’ उनले भने । जेनजी आन्दोलनपछि आफूलाई शिक्षामन्त्री बन्न बोलाइएको उल्लेख गर्दै उनले चार महिनाको कार्यकालमा शिक्षा क्षेत्रमा देखिएका विकृति र राजनीतिकरणको अनुभव साझा गरे । ती समस्या सुधार गर्न विभिन्न विधेयक र नियमावलीको मस्यौदा तयार गरे पनि कामचलाउ सरकारका कारण अघि बढ्न नसकेको उनले बताए ।
उनका अनुसार ती मस्यौदा अहिले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को शिक्षा हेर्ने टिमलाई हस्तान्तरण गरिसकिएको छ । संसदमा उनले आफ्नो भूमिका कुनै पक्ष वा विपक्षमा सीमित नभई निष्पक्ष रहने स्पष्ट सन्देश दिएका छन् ।