AArya
RUMPUM
animated ellipse animated ellipse

महासंघ अध्यक्षलाई राज्यमन्त्रीको हैसियत दिलाएरै छाड्छु : प्रधान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ मंसिर २०७७, शनिबार १८:०२
603
Shares
विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका किशोर प्रधानले आफूले महासंघ अध्यक्षको हैसियत राज्यमन्त्री सरह बनाएरै छाड्ने उद्घोष गरेका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानले आफू महासंघको नेतृत्वमा पुगे अध्यक्षको हैसियत राज्यमन्त्री र जिल्ला अध्यक्षहरूको हैसियत सांसद बराबर बनाउने बताए । राज्यले करदातालाई वडासदस्यको बराबर पनि हैसियत नदिने गरेको गुनासो पोखे । “अन्य विकसित मुलुकमा करदातालाई राज्यले उच्च सम्मान प्रदान गरेको पाइन्छ,” उनले थपे, “तर, नेपालमा उद्योगी व्यवसायी अर्थात् करदातालाई राज्यले सम्मान दिन जानेको छैन । म वरिष्ठ उपाध्यक्ष भएँ भने भावी अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा करदातालाई उच्च हैसियतमा पु¥याउनेछौं ।”

यसैबीच, महासंघको साधारणसभा नजिकिँदै गएसँगै प्रधानको पक्षमा माहोल झनै बढेर गएको छ । प्रधान समूहको जितले मात्रै आगामी आउने नेतृत्वलाई सफल बनाउने उद्योगी व्यवसायीहरूको भनाइ छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने महासंघको विधानले गरेको व्यवस्थाअनुसार शेखर गोल्छा आगामी अध्यक्ष बन्दैछन् । बाँकी पदहरूमा चुनाव हुँदैछ । वरिष्ठ उपाध्यक्षका लागि प्रधानसँग वर्तमान उपाध्यक्ष चन्द्र ढकाल भीड्दैछन् । प्रधान पनि वर्तमान उपाध्यक्ष हुन् ।

प्रधान उद्योग संगठन मोरङ, पूर्वाञ्चल उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका छन् । उनी महासंघमा अढाई दशकभन्दा लामो समयदेखि सक्रिय छन् । अनुभवी, इमान्दार र उद्योगी व्यवसायीहरूको दुःखसुखमा साथ दिंदै आएकाले यसपटक प्रधान समूहलाई मतदान गर्ने निर्णय गरिएको महासंघको प्रदेश २ अध्यक्ष शिवशंकर साहले बताए । उनले आगामी अध्यक्षको टिम भएकाले प्रधान पक्षमा मतदान गर्ने निर्णय गरेको सुनाए । उद्योगी व्यवसायीसँग समन्वय गरी सरकारसँग निजी क्षेत्रका समस्या राख्न सक्ने भएकाले प्रधान समूह आफूहरूको रोजाइमा परेको साहको भनाइ छ ।

“महासंघलाई बलियो बनाउन अध्यक्षले चाहेको टिम बनाउन पर्ने हुनाले प्रधान पक्षलाई मतदान गर्दैछौं,” उनले थपे, “भोलि अर्को समूह आयो भने गोल्छालाई असफल बनाउने खेल हुन सक्छ । यस्तो परिस्थिति सिर्जना भयो भने महासंघको शाख झनै खस्किनेछ । बरु भावी अध्यक्षले समर्थन गरेको व्यक्तिलाई नै जिताउनु राम्रो हुन्छ ।” महासंघमा केही व्यक्तिको हालीमुहाली रहेकाले यसपटकको निर्वाचनमा ती व्यक्तिहरू बडारिने अर्का उद्योगीको भनाइ छ । “कतिपय व्यक्तिले महासंघलाई दुहुनो गाई जस्तै बनाएका छन्,” ती उद्योगी भन्छन्, “यसपटकबाट ती व्यक्ति साइजमा आउनेछन् ।” जिल्ला नगर उपाध्यक्ष रहेका प्रधानलाई आगामी अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष कुशकुमार जोशीलगायतले खुलेरै समर्थन जनाएका छन् । त्यस्तै महासंघको प्रदेश–१ अध्यक्ष नरेन्द्र खड्का, प्रदेश–२ का शिवशंकर साह, वाग्मती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठलगायत विभिन्न प्रदेशको नेतृत्वले समेत प्रधान समूहलाई नै भोट दिने घोषणा गरिसकेका छन् । श्रेष्ठ पनि जिल्ला नगर उपाध्यक्षका उम्मेदवार हुन् । “कति खुलेर लागेका छन्, कति भित्रभित्रै लागेका छन्,” श्रेष्ठले भने, “तर सबैको चाहना भनेको आगामी नेतृत्व सफल बनाउन प्रधान समूह नै आउनुपर्छ भन्ने छ ।”

महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ देखि १३ गतेसम्म काठमाण्डौंमा हुँदैछ । अझै पनि केही पूर्व अध्यक्षहरू सहमतिको प्रयासमा रहेको बताइएको छ । महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर