बुटवल / दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट चुनाव जितेकी लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छिन् ।
आज विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छिन् । केहीसमय यता उनी माओवादी नेताहरूको सम्पर्कमा आएकी थिइनन् । सँगै उनी एमालेमा प्रवेश गरेको भन्ने चर्चा भइरहेको थियो ।
तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् । ‘मैले सूर्य चिहनबाट चुनाव जितेको र अहिले सूर्य चिहन एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु’ उनले भनेकी छिन, नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिहनबाट म चुनावमा उम्मेदवार भएको हो । पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टी एक दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नुहुन सबैमा आग्रह गर्दछु ।’दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनी नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (सभामुखसमेत), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् । विमला एमालेमा फर्किएपछि विपक्षी गठबन्धनलाई सरकार गठनका लागि प्रदेशसभाको बहुमत नपुग्ने देखिएको छ ।
तपाईको प्रतिक्रिया