खबर पूर्वाञ्चल
आकर्षक रोजगारी हुने भन्दै विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनलाई पक्राउ गरको हो । पक्राउ पर्नेहरुमा एक जना भारतीय रहेका छन् । जसमा भारत अररिया जिल्ला जोगवनी ग्राम पंचायत ३ बस्ने २३ वर्षीय केशव यादव, कटहरी गाँउपालिका ३ का २२ वर्षीय रोहितकुमार पासवान, विराटनगर महानगरपालिका – ८ का २३ वर्षीय करण भन्ने अमीत राय, कटहरी ३ का ३० वर्षीय बुद्धनारायण मलाह र पथरी शनिश्चरे नगरपालिका ५ का २५ वर्षीय बोधराज राजवंशीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरुले युरोप, अमेरिका, कुवेत, दुवई पठाउने भनि भ्रममा पारी ठगी गरेको आरोप छ ।
उनीहरुले विराटनगर महानगरपालिका वडा नं ११ का महेशकुमार चौधरीको छोरा युपेशकुमार चौधरीलाई क्यानडा देश पठाई दिन्छु भनि ६६ लाख ६७ हजार रुपैयाँ ठगी गरेको डिएसपी जोशीले बताए । ‘विभिन्न विदेशी मोवाइल नम्बरहरुबाट खोलिएको वाटसपबाट महेशकुमार चौधरीलाई कल गरी भिषा प्रयोजनका लागि आवश्यक कागजातहरु समेत पठाई प्रलोभनमा पारी विभिन्न मानिसहरुको बैंक खातामा पटकपटक गरी ६६ लाख ६७ हजार जम्मा गर्न लगाई ठगी गरेको पाइएको छ ,’ डिएसपी जोशीले भने, ‘ठगीमा परेपछि पीडितले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।’
पक्राउ परेका प्रतिवादीहरुलाई मोरङ अदालतमा आज ठगी सम्बन्धित कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।