पूर्वाञ्चल खबर
सुनसरीका ३ , मोरङका २ जना र एक जना मोरङ कारागारका कोरोना भाइरसका कारण मृत्यु भएको हो । प्रदेश १ मा अहिलेसम्म मृतकको संख्या ९५ पुगेको छ भने प्रदेश १ बाहिरको १५ जना रहेको सामाजिक मन्त्रालयले जनाएको छ ।
आज विहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति ९ः३० बजेतिर मृत्यु भएको हो । बुधबार बिहान श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको जानकारी अस्पतालले दिएको छ ।
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७ बजेतिर मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि असोज १७ गते उपचारका लागि भर्ना गरिएका उनमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।
पछिल्लो समय श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएपनि ती पुरुषमा कुनै दीर्घरोग रहेको जानकारी नभएको अस्पतालले जनाएको छ ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको मृत्यु भएको बताए ।
इटहरीका संक्रमितलाई ज्वरो–खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि असोज २२ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २० गते संक्रमण पुष्टि भएका उनमा कुनै दीर्घरोग नदेखिएको प्रतिष्ठानले जनाएको छ ।
असोज १२ गते भर्ना भएका दुहबीका संक्रमित पुरुष भने लामो समयदेखि मृगौला रोगले पीडित रहेको अस्पतालले जनाएको छ । उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।
त्यस्तै मोरङ कारागारका एक बन्दीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
विराटनगरस्थित कारागारमा रहेका उनको आज बिहान सवा १० बजे कोशी अस्पतालमा मृत्यु भएको हो ।
कोशी अस्पताल विराटनगरको आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार बिहीबार बिहान भर्ना गरिएका युवकमा सोही दिन कोरोना पुष्टि भएको थियो । उनको आइसोलेसनमा उपचार भइहरेकोमा मृत्यु भएको उनको भनाइ छ ।
युवकलाई आईसीयूमा राखेर उपचार गर्नुपर्नेमा कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरमा आईसीयू बेड खाली नभएका कारण उनलाई कोशीकै आइसोलेसनमा राखिएको थियो । लागूऔषध मुद्दामा पुर्पक्षका लागि गत माघदेखि उनी थुनामा रहेका थिए ।
गत असोज १५ गते पनि कारागारमै रहेका २७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो । ९ सय १८ जना कैदी बन्दी रहेको कारागारमा ५ जनालाई कोरोना पोजेटिभ देखिएपछि कारागारभित्र आइसोलेसन सञ्चालन गरिएको छ ।
त्यसैगरि विराटनगरमा होम आइसोलेसनमा बसेकी महिलाको आज दिउँसो मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१२ बखरीकी ५५ वर्षीया महिलालाई थप उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा पुर्याएको केही समयपछि मृत्यु अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा अचानक समस्या भएपछि महिलालाई सिटी सफारीमा राखेर थप उपचारका लागि अस्पताल ल्याइएको थियो ।
आइसोलेसनमा भर्ना गर्नका लागि आकस्मिक कक्षमा पुर्याएको केही बेरमै संक्रमितको दिउँसो साढे ४ बजेतिर मृत्यु भएको दाहालले बताए ।
महिलालाई कोरोनासँग मिल्ने लक्षण देखिएपछि कोशी अस्पतालमा परीक्षण गर्दा बिहीबार पोजेटिभ रिपोर्ट आएको थियो ।
कोरोना पुष्टि भएपछि ‘होम आइसोलेसन’मै बसेकी महिलालाई अचानक स्वास्थ्यमा समस्या आएपछि सिटी सफारीमा आफन्तले अस्पताल ल्याएका थिए ।
मृतक महिलामा मधुमेह र बाथको समस्या रहेको दाहालले जानकारी दिए । आजै नोबेलमा दुईजना, कोशी अस्पतालमा एकजना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजनाको मृत्यु भएको थियो ।