धार्मिक ग्रन्थ कुरान पाठ गर्दै रोजा बसेका छन् कोरोना सङ्क्रमित मुस्लिमहरु

खबर पूर्वाञ्चल, २३ बैशाख २०७७, मंगलवार १४:५०

विराटनगर / कोरोना उपचारमा रहेका मुस्लिमहरु रोजा ब्रत बस्दै धार्मिक ग्रन्थ कुरान पाठ गर्नुका साथै प्रत्येक दिन निर्धारित समयमा नमाज पढिरहेका छन् ।

केन्द्रको धार्मिक सहिष्णुता देखेर कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ कोभिड –१९ का पोजेटिभ सङ्क्रमितहरु सेवा तथा उपचारबाट खुशी रहेका छन् ।
सङक्रमितहरु आफ्नो दिनचर्या साधारण रुपमा अन्य समय झै व्यतित गरिरहेका छन् । केन्द्रमा यही वैशाख ५ गते बेलुकी उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट ल्याएको कोभिड पोजेटिभको उपचार शुरु गरिएदेखि आजसम्म ३१ जनाको उपचार भइरहेको छ ।
प्रदेश १ को सरकारले स्थापना गरेको विराटनगर–१० मा रहेको केन्द्रमा १ सय शैय्या मध्ये १० शैययाको भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको छ ।

केन्द्रमा दुई महिला , १२ भारतीय सहित ३१ जनाले दैनिक रुपमा आफ्नो कार्य गरी समय बिताई रहेका छन् । उपचार केन्द्रको व्यवस्थापन, गम्भीरता, हेरचाह, सरसफाई, व्यवहार, सङ्क्रमितप्रतिको सकारात्मक सोच र जवाफदेहीताबाट उनीहरु केन्द्रको उपचार व्यवस्थापनबाट प्रसन्न रहेका छन् ।

महिलालाई अलग कोठासहित सबैलाई केन्द्रको तल्लो तल्लामा राखिएको छ । उनीहरुले दैनिक रुपमा आफ्नै कोठामा साधारण व्यायाम गर्ने गरेका छन् भने अन्य समयमा केन्द्रले जडान गरेको इन्टरनेटबाट मनारञ्जन गर्ने गरेका छन् ।
सङक्रमितहरुलाई अहिले साधारण औषधि प्रयोग गर्ने गरिएको छ भने उनीहरुले पहिलेदेखि प्रयोग गरिरहेको औषधि समेत सुचारु नै रहेको छ ।
मुस्लिम समदायले आफ्नो समय अनुसार नमाज पढ्ने गरेको केन्द्र व्यवस्थापन समितिले जनाएको छ ।
उपचार केन्द्रमा रहेका १७ जना मुस्लिम समुदायले एक महिना बस्ने रोजा(ब्रत) बसिरहेको केन्द्रका व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । केन्द्रले मुस्लिम समुदायलाई माग अनुसार धार्मिक ग्रन्थ कुरानको व्यवस्था गरिदिएको छ ।

प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले सङ्क्रमितको उपचार सेवामा कुनै कमि हुन नदिने बताउँदै अग्रभाग कार्य गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्यप्रति सरकारले ध्यान दिएको बताए । उनले सङ्क्रमितको उपचारमा कार्य गर्ने चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई खाना, बास, तथा प्रोत्साहन भत्ता, वीमालगायतको व्यवस्था गरिएको जानकारी दिँदै इस्लाम धर्मावलम्बीहरुको महान् चाड रमजान पर्वको शुभकामना पनि दिए ।
केन्द्रका प्रत्येक कोठामा सिसि टिभि राखिएकाले चिकित्सकले त्यसैबाट अनुगमन गर्ने गरेका छन् भने सङ्क्रमितहरुले आवश्यक परेको बेलामा मोबाइलबाट सम्पर्क गर्ने गरेको संयोजक बस्नेतले जानकारी दिए ।
सङ्क्रमितहरुमा अहिलेसम्म कुनै समस्या नदेखिएको र साधारण रुपमा बसिरहेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले बताइन् । उनीहरुमा कुनै खास लक्षण समेत नदेखिएको डा. मिश्राले जानकारी दिइन् ।
केन्द्रमा उपचारका लागि चार चिकित्सक, चार नर्स, तीन स्वास्थ्यकर्मी र तीन सफाई कर्मचारी दैनिक कार्य गरिहेका छन् ।
चिकित्सकले दैनिक छ घण्टा र नर्स , स्वास्थ्यकर्मी तथा सफाई कर्मचारीले दैनिक आठ÷आठ घण्टा एक सप्ताह उपचार केन्द्र भित्र र बाहिर कार्य गरेपछि १४ दिन क्वारेन्टाइनमा जाने व्यवस्था गरिएको डा. मिश्राले बताइन् ।
उपचारार्थ सङ्क्रमितलाई चिया, कफिको सम्पूर्ण सामाग्रीको व्यवस्था गरिएको व्यवस्थान समितिका सदस्य ध्रुव उराँवले जानकारी दिए ।
सङ्क्रमितहरुमध्ये १७ जना मुस्लिम रोजा(ब्रत) बसेको हुनाले साँझ साढे ५ बजे खाजा(इफतार), साँझ साढे ६ बजे खाना र बिहानको ३ बजे खानुपर्ने खाना(सेहरी) बेलुकी नै उपलव्ध गराइने गरिएको छ । कोरोना सङ्क्रमितहरुको आज १० औँ रोजा हो । यसलाई पहिलो असरा पनि भनिन्छ । उनीहरुको अझै २० वटा रोजा बस्न बाँकी छन् । रमजान महिनालाई १०÷१० दिनको तीन असरामा बिभाजन गर्ने परम्परा छ ।
यसैगरी अन्यका लागि बिहान ८ वजे खाजा, ११ वजे खाना, दिउँसो फलफूल र साँझ साढे ६ खाना उपलव्ध गराइएको सदस्य उराँवले जानकारी दिए ।
सङ्क्रमितहरुलाई खानामा हरियो सागसव्जी, माछामासु, अण्डा एवं माग अनुसार भात र रोटीको व्यवस्था गर्ने गरिएको छ । उनीहरुलाई खानाको लागि होटल इस्र्टन स्टार र रुबिजबाट प्याकेटमा ल्याउने प्रवन्ध मिलाइएको छ ।

रोगप्रतिरोध क्षमता आर्जनका लागि दैनिक मौसम अनुसारको फलफूल उपलव्ध गराइको संयोजक बस्नेतले भनाई छ ।
सङक्रमितले प्रयोग गरेको खानाको प्याकेटसहितको फोहरलाई सङक्रमण रहित बनाएर खाल्डोमा पेट्रोलबाट जलाइने गरेको समितिका सदस्य उराँवले जानकारी दिए ।
सङक्रमित उपचार गराइरहेका मध्ये पहिलो चरणमा आएका १३ जनाको एक पटक थ्रोट स्वाव नमूना सङकलन गरिएको छ भने दोश्रो पटक नमूना सङ्कलनको परीक्षणबाट आएको रिपार्टको आधारमा उनीहरुलाई घर फर्कन दिन सम्बन्धमा छलफल गरिने संयोजक बस्नेतले बताए ।
सङक्रमितलाई घर पठाउन दुई पटक स्वाव(पिसिआर) रिपोर्ट नेगेटिभ आएमा एक हप्ता घरमै क्वारेन्टाइनमा बस्न आग्रहसहित पठाउने सकिने समितिका संयोजक बस्नेतले बताए ।
प्रदेश सरकारले कोभिडबाट सङक्रमितहरुको उपचारलागि सुविधा सम्पन्न अस्पताल बनाउने निर्णय अनुसार बिगतको नेशनल ट्रेडिङको लि. को पुरानो भवनलाई आवश्यक मर्मत सम्भार गरी सुविधा सम्पन्न केन्द्र १० दिनभित्रमा तयार गरिएको हो । केन्द्रमा कोशी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आवश्यक स्वास्थ्य सेवा पु¥याइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५