पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको नेतृत्वमा गएको टोलीले मानसिक सन्तुलन गुमेका २ जनालाई उद्धार गरेको छ ।

उद्धार गरिएकामा एक महिला र एक पुरुष रहेका छन् । महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दीरा कार्कीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई उद्धार गरेको हो ।
अन्दाजी ५५ बर्षका पुरुषलाई मेनरोडस्थित नमस्कार होटल अघिल्तिरको खाली चौरबाट उद्धार गरिएको हो । मानसिक सन्तुलन गुमेका ती ब्यत्ती लामो समयदेखि खुल्लाचौरमा फोहोरको डँगुरमा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । यसैगरि अर्का एक महिलालाई जलजलाचोक पूर्वस्थित शनिमन्दिर रोडबाट उद्धार गरिएको छ । बंगाली भाषा बोल्ने ती महिला सो क्षेत्रमा ५ महिनायता बस्दै आएको बताइएको छ ।
प्रहरी र मानव सेवा समिति सहितको टोलीले दुवैजनालाई उद्धार गरेको हो । उद्धार गरिएका ब्यक्तीहरुलाई विराटनगर १० स्थित मानव सेवा आश्रममा राखिने महानगर प्रमुख पराजुलीले जानकारी दिए । नगरक्षेत्रलाई बेसहारा मुक्त बनाउने अभियान अन्र्तगत उद्धार कार्यलाई निरन्तरता दिइएको उनको भनाई छ ।
मानव सेवा आश्रमसंगको सहकार्यमा उद्धार कार्य जारी रहने महानगर प्रमुख पराजुलीले बताए । हालै स्थापना भएको मानव सेवा आश्रममा उद्धार गरिएका र बेसाहारा भेटिएकाहरुलाई राखिने गरेको छ । आश्रित ब्यक्तीहरुकालागि महानगरले आवश्यक बजेटको समेत ब्यवस्था गरेको जनाइएको छ ।