विराटनगर/ कोरोना संक्रमण अन्त्यभएपछि अहिले कोभिड १९ को उपचार भइरहेको कोशी कोभिड उपचार केन्द्रलाई स्त्री रोग तथा प्रसूती अस्पताल प्रदेश सरकारले बनाउने भएको छ ।
प्रदेश सरकार मातहत रहेर अस्पताललाई प्रसूतीको उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरिएको हो । प्रदेश सरकारले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रमम र बजेटमा पनि कोभिड उपचार केन्द्रलाई प्रसूती अस्पताल बनाउने सामावेश गरेको छ ।
कोरोना संक्रमणको अन्त्यपछि कोभिड अस्पताललाई स्त्री रोग तथा प्रसुती अस्पताल बनाउने तयारी रहेको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन् । ‘प्रदेश सरकारले यसका लागि आवश्यक वजेटको पनि प्रवन्ध गरेको छ,’ उनले भने, ‘कोभिड अन्त्यपछि यस अस्पताललाई छुट्टै प्रसूतीको उपचार गरिनेछ ।’
आइसियू र भेन्टिलेटरसहितका ९६ वटा शैय्या रहेको अस्पतालमा आजसम्म ४१ जना उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिए । उनका अनुसार जनरल वेडमा ८, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत छन् । उनका अनुसार कोरोना संक्रमित पछिल्लो समय अस्पतालमा भर्ना हुने दर पनि घट्दै गएको जानकारी गराए । ‘अहिले कोभिड १९ का विरामी अस्पताल आउने संख्या पहिले जस्तो छैन,’ उनले भने, ‘बिगतका दिनहरूमा भन्दा अहिले संक्रमित भएर अस्पताल आउनेको संख्या ह्वातै घटेको छ ।’
तपाईको प्रतिक्रिया