AArya
RUMPUM
animated ellipse animated ellipse

हत्या गरि रुखको जराभित्र लुकाइ राखेको युवकको शव भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० माघ २०७८, सोमबार १३:४९
828
Shares
विराटनगर / हत्या गरि रुखको जराभित्र लुकाइराखेको एक युवकको शव भेटिएको छ । रुखको जराभित्र शव भेटिएपछि मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको आशङ्का गरिएको छ ।

१२ दिनदेखि बेपत्ता बनेका उनको शव आइतबार दिउँसो चारकोसे जङ्गलमा ढलिरहेको रुखको जराभित्र फेला परेको हो । सडेर दुर्गन्धित बनेको अवस्थामा भेटिएको शवको आफन्त र परिवारका सदस्यमार्फत प्रहरीले पहिचान गरेको थियो । हत्या गरेपछि रुखको जराभित्र लगेर शव लुकाइएको बताउँदै परिवारले घटनाको यथार्थ पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग गरेको छ ।

खोर्साने–केराबारी सडक खण्डको आमजुङ्गी विश्वकर्मा मन्दिरदेखि झन्डै दुई किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जङ्गलमा ढलेको रुखको जराभित्र शव भेटिएको हो । प्रहरीले पनि उनको हत्या भएको हुनसक्ने आशङ्का गरेको छ ।

पुस २३ देखि २९ गतेसम्म लागेको मच्छिन्द्र मेला हेर्न भनेर गत पुस २७ गते भट्टराई घरबाट हिँडेका थिए । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाका बारेमा गम्भीर ढङ्गले अनुसन्धान थालिएको जानकारी दिए ।

उनका अनुसार शरीरका सबै भाग सडेर दुर्गन्धित बनेको अवस्थामा शव भेटिएको थियो । अनुहार पनि नचिनिने गरी कुहिएका कारण सुरुमा प्रहरीले यकिन गर्न नसकेको र पछि आफन्त एवम् परिवारका सदस्यले शवको पहिचान गरेको जिसीले बताए ।

गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी दिएका हुन् । स्थानीयका अनुसार भट्टराई केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे ।

मेला भर्न भनेर घरबाट हिँडेका उनी सम्पर्कविहीन बनेपछि परिवारका सदस्यले खोजीका लागि आग्रह गर्दै इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएका थिए । उजुरी दिए पनि प्रहरीले खोजतलासमा चासो नदिएको र सडेर दुर्गन्धित भइसकेपछि शव भेटिएको गुनासो आफन्तको छ ।

प्रहरीका अनुसार मेला भर्न गएका स्थानीयले भट्टराईलाई पुस २८ गतेसम्म मेलामै देखेको बताएका छन् । स्थानीयले मेलामा केही युवाहरुसँग भट्टराईको विवादसमेत भएको प्रहरीलाई बताएका छन् । त्यस क्रममा उनको हत्या गरेर शव चारकोसे जङ्गलको रुखको जराभित्र लुकाइएको हुनसक्ने प्रहरीको आशङ्का छ ।

घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै भट्टराईको हत्या भएको हो कि हैन भनेर यकिन हुने जनाएको छ । लामो समयदेखि बेपत्ता भएका युवकको खोजीमा प्रहरीले चासो नदिएको र पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नगरेको भन्दै स्थानीयले शव उठाउन केहीबेर अवरोधसमेत गरे ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान अघि बढाएर चाँडै सत्यतथ्य पत्ता लगाउने प्रतिवद्धता जनाएपछि स्थानीयले शव उठाउन दिएका थिए । प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि धरान लगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर