RUMPUM
animated ellipse animated ellipse

अब्दुल खताब (सहन्शाह सिद्दिकी) राठीप्र करण : न्याय दिनमा गरिएको ढिलाई अन्याय हो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०८०, सोमबार १८:१८
891
Shares
बसन्त अधिकारी
नेपाल टाइम्सका संस्थापक तथा संचालक अब्दुल खताब (सहन्शाह सिद्दिकी) बिगत १ बर्ष अघि प्रहरीको हिरासत हुदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति थुनामा राख्न मोरङ कारागार पठाइएको अवस्था छ ।

सिद्दिकीको आठ पटक पेशी सरि सकेको छ भने अझै फैसला कुरेर बसिरहेका छन् । दुई साझेदार बीच भएको आपसी मतभेदको कारण सिद्दिकी कारागार चलान भएका छन् । नेपाल टाइम्स मध्येका साझेदार अरुण राठीले प्रहरीमा दिएको उजुरी अनुसार सिद्दिकीले उनलाई चुनाबी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएको अभियोग छ ।

जबकि सिद्दिकीको भनाइ अनुसार चुनाबताका नेकपा एमालेको तर्फबाट तत्कालीन प्रदेश १ अहिलेको कोशी प्रदेशको प्रदेश सभाको समानुपातिकका उमेद्वाररहेका अरुण राठीले बारम्बार उनीलगायत उनी निकटका संगठनका उमेद्वारहरुलाई नेपाल टाइम्सलाई समर्थन र प्रबर्धन गर्न दबाब दिनुको साथै, बिपक्षी पार्टीका उमेद्वारहरुलाई बदनाम गर्न दवाब दिँदा, आफ्नो मिडियाले कसैको पक्ष र बिपक्ष लिन अस्वीकार गरे पश्चात राठीले या त मिडिया आफ्नो बनाउने, अन्यथा सिध्याई दिने धम्की दिएका थिए । चुनाबमा राठीलगायत संगठनले अपेक्षित नतिजा ल्याउन नसकेको कारण त्यसको रिस आफु र आफ्नो संस्थासंग पोखेको सिद्धिकी बताउँछन् ।

यतिका ठूला ब्यापारी, त्यसमा पनि देशकै दोस्रो ठूलो राजनीतिक दल एमालेको तर्फबाट प्रदेश सभाको समानुपातिकका उमेद्वार, जसको पछाडी पहुँच, शक्ति र पहिचान भएको जानकारी हुँदा हँदै पनि सिद्दिकीले यति हल्का रुपले अपहरण गरि, शरीर बन्धक बनाई कुटपिट गरेर दिउँसै मानिसहरुको चहल पहल भएको बाटोको बिचमा बसेर राठीबाट फिरौती रकम स्वरुप चेक लिए भनेर भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । त्यसमा पनि १० लाखभन्दा बढी फलोअर भएको नाम चलेको मिडिया,जसले १०/१२ जनालाई स्थानीय तहमा रोजगारीको अवसर सिर्जना गरेको छ । त्यसको संस्थापकले १५ लाखको लागि आफ्नो नाम र आफ्नो संस्थाको नाम बदनाम गर्ने जोखिम लिन्छ कि लिदैन भन्ने बिषय सोचनीय छ ।

अरुण राठी र सिद्दिकीबीच के भयो भन्ने कुरा यी दुवैलाई मात्र थाहा छ । तर घटनालाई सर्व साधारणको नजरियाले हेर्ने हो भने यो कुनै अपहरण र अपराधिक घटना भन्दा पनि आपसी लेनदेन र मनमुटावको घटना महसुस हुन्छ । अरुण राठी, निजका छोरा योगेश राठी तथा कर्मचारी बृज मोहन भगतले पटक पटक गरि नेपाल टाइम्सबाट रकम लगेको प्रमाणले पनि यो कुरालाइ स्पस्ट गर्दछ ।

त्यसबाहेक सर्व साधारणको नजरले हामीले हेर्दा अपहरण भएको भनिएको घटनाको ५ दिन पछि (२०७९ मंसिर १८ गते) मात्र राठीले प्रहरीमा जाहेरी दरखास्त दिएको देखिन्छ । सिद्दिकीले उजुरी परेको खबर पाए लगतै नेपाल टाइम्सका एक सहकर्मीसंग जिल्ला प्रहरी कार्यालय पुगी घटना बारे प्रहरीसँग आवस्यक छलफल गरि फर्किएको , २०७९ साल मंसिर २९ गते आफ्नो फेसबुक प्रोफाइलमा स्टाटस लेखेर सिद्दिकी आफैले अनुसन्धानमा सहयोग गर्नको निम्ति जिल्ला प्रहरी कार्यालयमाउपस्थित भएको, सिद्दिकीसंगै पक्राउ परेका चिखु भाइ अजय भनिने जयकुमार रामनाम गरेका ड्राइभर १ लाख रुपैया धरौटीमा छुटेको, उनले प्रहरी र अदालतमा फरक फरक प्रकृतिको बयान दिएको राठीले आरोप लगाए अनुसार अपहरण गरेर अंगभंग हुने गरी कुटपिट गरेको सिसिटिभी फुटेजहरुमा नदेखिएको फिरौती भनिएको रकम राठीले चेक सिद्दिकीको नाममा नभएर कम्पनीका महानिर्देशक आफै भएको नेपाल टाइम्सको नाममा दिएको जस्ता घटनाहरु सामेल छन्, जुन बिषयहरु सायद मुद्दाको फैसला हुँदा ध्यानमा राखिने छ ।

आफु निर्दोष भएको जनाउदै सिद्दिकीले जेलबाट नै धेरै पटक राठीलाई केस मिलाइ दिन आग्रह गरेका थिए । सिद्दिकीले गरेको अपराधको सजाय भोगिसकेको र कसैको भबिस्य बिगार्ने नियत आफ्नो नभएकोले पाउनु पर्ने रकम वा चेक पाएको खण्डमा सिद्दिकी कारागार मुक्त हुँदा गुनासो नरहने कुरा राठीले उनको घरमा मसंग छलफल हुँदा बताएका थिए । सिद्दिकी को भाइले बक पत्र हुन् अघि २ पटक गरि २ लाख बुझाएको मेरो जानकारीमा छ । जसमा १ पटक म स्वयम् सिद्दिकीको भाइको अनुरोधमा अरुण राठीको घर गएको बेला राठीले सिद्दिकीको कान्छो भाइबाट १ लाख नगद बुझेका थिए ।

१० लाख फलोअर्स भएको नाम चलेको मिडिया संचालक अपहरणको मुद्दामा पुर्पक्षको निम्ति १ बर्षसम्म जेलमा रहँदा पनि थोरैले मात्र उनको बारेका चासो राखेको वा बोलेको सुनियो । सिद्दिकीको मुद्दालाई लिएर समाजमा जति बहस सिर्जना हुनु पर्ने थियो त्यति बहस सृजना हुन सकेन ।

पत्रकार महासंघ मोरङले आफ्ना सदस्यहरुलाई कहिँकतैबाट आक्रमण भएको अवस्थामा सधै ढाल बनेर प्रतिरक्षा गर्ने गरेको छ । यो कुरा हिजोको दिनमा नागरिक दैनिकका पत्रकार खिला ढकालमाथि प्रहार हुँदा होस् अथवा आवर विराटनगरका पत्रकार प्रेम देवानमाथि भर्खरै दुर्व्यवहारको बिषयमा स्पस्ट देख्न सकिन्छ । तर त्यहि किसिमको व्यवहार भने नेपाल टाइम्सका संचालक सिद्दिकीको हकमा भएको देखिदैन् ।

अदालतमा विचाराधीन मुद्दा भएको कारण पत्रकार महासंघ वा सो संग आबद्ध मानिसहरुलाई बोल्न असहज भएको हुनसक्छ, जुन कुरा धेरै हदसम्म जायज देखिन्छ । तर सिद्दिकी पत्रकार महासंघ मोरङको सदस्य नभएकोले संस्थाले उनको बचाउमा बोल्न आवस्यक नठानेको हुनसक्छ भन्ने तर्क एक जना संचारकर्मी मित्रले भन्दा आश्चर्य चकित भए । जबकि उनी पत्रकारिता क्षेत्रमा सक्रिय रहेको बिषय सबैलाई ज्ञातछ ।

एकजना साथीले सिद्दिकीको Attitude (अरुलाई मतलब नराख्ने स्वभावको) ठीक नभएकोले मानिसहरु उनको पक्षमा बोल्न नरुचाएको भन्ने धारणा ब्यक्त गरे भने, कसैले राठीले विज्ञापन नदेलान वा दिएको विज्ञापन रोकिदेलान भन्ने डरले पनि धेरैले बोल्न नसकेको भावना ब्यक्त गरे । केहिले घटना घटाएकै हुन् भन्ने तर्क दिएत कसैले उनी मुस्लिम समुदायको भएको र उनको नामको कारणले पनि उनी माथि शंका गर्ने आधार रह्यो भन्ने जस्ता तर्कहरु पनि दिए । स्वयम् उनकै समुदायका मानिसहरुले पनि खासै चासो दिएको देखिएन । यदि सिद्धिकी कुनै राजनीतिक पार्टीको सदस्य भएको भए सायद उनी जेल जानु पर्ने अवस्था हुने थिएन, कुनै पनि राजनीतिक पार्टीको सदस्यन भएको कारण उनको पक्षमा उभिदिने नभएको भन्ने जस्ता तर्कहरुले म अलि झस्किए ।

यदि एक जना ब्यक्तिले आफुलाई निर्दोष साबित गर्न र उसको बिषयमा बहस सिर्जना हुनको लागि कुनै पार्टीको वा संगठनको सदस्य नै हुनु पर्ने, ठूला बडा मानिस र नेता चिनेकै हुने पर्ने हो भने हामी कस्तो समाजमा बाचिरहेका छौ भन्ने प्रश्न आउछ । एउटा संचारकर्मीले न्याय पाउन राजनीतिक पार्टी र महासंघको सदस्य नै हुनु पर्ने, बोली व्यवहार अलि खरो र मुस्लिम समुदायको भएको आधारमा तिरस्कृत हुनु पर्ने वा जाहेरी दिने मानिस समाजको प्रतिष्ठित, पहुँच र सम्पतिवाला ब्यक्ति भएकै आधारमा कसैले जेल जीवन बिताउनु पर्ने वा न्यायमा ढिलाई हुने कुरा सभ्य समाजको लागि पाच्य हुदैन् ।

यदि सिद्दिकीले राठीले भने अनुसार घटना घटाएका हुन् र सबुत प्रमाणले त्यो कुरा प्रमाणित हुन्छ भने उनले कानुन बमोजिम सजायको भागेदार हुनु पर्दछ । तर उनी माथि लागेको अभियोग उनीले घटाएको पुस्टि हुदैन र उनको परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण, पक्षमा बोलिदिने र उभि दिने कोहि नभएकै आधारमा उनी जेलमा सड़ीरहनु न्याय संगत हुदैन । यसले केहि गर्छु भन्ने युवाको भबिष्यलाई अन्धकारमा धकेली दिनेछ ।

भनिन्छ “Justice Delayed is Justice Denied”न्याय दिनमा गरिएको ढिलाई अन्याय हो । यसरी कोहि पनि ब्यक्ति अनिर्णयको बन्दी बनि रहनु हुदैन । एक बर्ष निकै लामो समय हुन्छ बर्ष दिनसम्म फैसलाको आशमा बसिरहनु निकै पीडादायी हुन्छ । त्यसैले सत्य तथ्यको छानबिन गरि छिटो भन्दा छिटो राठी र सिद्दिकीको मुद्दाको फैसला हुन् जरुरी छ । जहासम्म मेरो बुझाइ छ राज्य र यसका संयन्त्रहरुको उत्पति बलियाबाट कमजोरहरुलाई बचाउनको निम्ति स्थापना गरिएको हो । कमजोर भएकै कारण कोहि अन्यायमा पर्नु हुँदैन र पहँुच र शक्ति भएकै भरमा न्याय कसैको पक्षमा हुनुपर्छ भन्ने हुदैन । आशा छ सत्य र न्यायको जित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर