विराटनगर /उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा इतिहासमै सबैभन्दा बढी मुद्दा फछ्र्यौट गरेर नयाँ कीर्तिमान कायम गरेको छ।
अदालतका रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार सो अवधिमा ८ हजार ४४१ मुद्दा दर्ता भएका मध्ये ५ हजार ७९ मुद्दा फछ्र्यौट गरिएको हो। यसअनुसार अदालतले ६०.१७ प्रतिशत मुद्दा फछ्र्यौट गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो। बाँकी रहेका मुद्दा संख्या ३ हजार ३६२ रहेको छ। यीमध्ये ४ हजार १ सय ८३ वटा मुद्दा जिम्मेवारी सरी आएका थिए भने ४ हजार २५८ वटा मुद्दा नयाँ दर्ता भएका हुन्।
दर्ता भएको मुद्दामध्ये २ वर्ष पुग्ने अवस्थामा रहेका ७१९ मध्ये ७१३ मुद्दा फछ्र्यौट गरिएको छ भने केवल ६ मुद्दा मात्र बाँकी छन्। यस्तै १८ महिना पुग्ने अवस्थामा रहेका १ हजार ४५९ मुद्दामध्ये १ हजार ४२६ मुद्दा फछ्र्यौट भएका छन्, जसमा ३३ मुद्दा अझै बाँकी छन्। जिम्मेवारी सरी आएका ४ हजार १८३ मुद्दामध्ये ३ हजार ६०५ मुद्दा फछ्र्यौट भएको छ भने ५७८ मुद्दा अझै बाँकी छन्।
पाँच वर्षयताकै उत्कृष्ट फछ्र्यौट पछिल्ला पाँच आर्थिक वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०८१/०८२ मा सर्वाधिक मुद्दा फछ्र्यौट भएको देखिन्छ। २०७७/०७८ मा ३ हजार ६६१ मुद्दा दर्ता भएकोमा २ हजार १ सय ८ मुद्दा फछ्र्यौट गरेको छ । २०७८/०७९ मा ५ हजार २ मुद्दा दर्ता, ३ हजार २४ मुद्दा फछ्र्यौट गरेको छ । २०७९/०८० मा ५ हजार ४८० मुद्दा दर्ता, २ हजार ९३६ मुद्दा फछ्र्यौट गरेको छ । २०८०/०८१ मा ७ हजार ४३७ मुद्दा दर्ता, ३ हजार २५४ मुद्दा फछ्र्यौट र २०८१/०८२ मा ८ हजार ४४१ मुद्दा दर्ता, ५ हजार ७९ मुद्दा फछ्र्यौट गरेको छ । यो तथ्याङ्कले अदालतको न्याय सम्पादन क्षमतामा वर्षेनि भएको सुधार स्पष्ट देखाउँछ। अदालतको अभिलेख अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मेलमिलापमार्फत १३.३४ प्रतिशत मुद्दा समाधान गरिएको छ।