पूर्वाञ्चल खबर
विराटनगर /संविधानले जनताका सुरक्षा, सम्मान र सामाजिक न्यायलाई सुनिश्चित गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।
आज विराटनगरमा प्रेस संगठन नेपाल मोरङले आयोजित पत्रकार भेटघाटमा मन्त्री बास्कोटाले परिवर्तनका लागि जोखिमपूर्ण यात्राबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुको विकल्प नरहेको बताए । संविधानलाई कार्यान्वयनमा ल्याउन जनता बढी जागरुक हुुनु पर्ने भन्दै मन्त्री बास्कोटाले विभिन्न जातजाति, भाषा, संस्कृतिका भन्दा सबैका साझा पर्व संविधान दिवस रहेको बताए ।
नेपाली जनताका भविष्य र सपनालाई अुनबन्धित एवं सुनिश्चित गरेको यो संविधान दिवसले देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायलाई स्थापित गर्ने मन्त्री बास्कोटाले बताए । संविधान दिवस २०७६ विशेष रुपमा मनाउन सरकारबाट आह्वान भइसकेको चर्चा गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रलाई सबलीकरण गर्ने सञ्चार माध्यम संधै जागरुक हुनु पर्ने बताए । वर्तमान प्रणालीलाई बलियो बनाई आर्थिक र सामाजिक रुपान्तरणमा गति दिन सबैलाई आग्रह गर्दै मन्त्री बाँस्कोटाले संविधान कुनै दल विशेषको मात्र नभएर सबैको रहेको बताए ।
नागरिक गुनासोलाई स्वभाविक रुपमा लिएको चर्चा गर्दै सरकार मन परेन भने व्यवस्थालाई कमजोर पार्ने काम सहय नहुने कुरामा मन्त्री बास्कोटाले जोड दिए । सामन्तीलाई पराजीत गरेर ल्याएको यो व्यवस्थाको रक्षा जनताले नै गर्ने धारणा राख्दै मन्त्री बास्कोटाले सरकार दीगो विकासका लागि योजनाबद्ध भएर अघि बढिरहेको बताए । रोजगारी सिर्जना गर्न उत्पादन बढाउनु पर्ने भन्दै मन्त्री बास्कोटाले सुदृढ अर्थतन्त्रको जगबसाल्न वर्तमान सरकारले शुरु गरिसकेको बताए ।
विगतको भन्दा अहिले निर्यात बढेको छ स्पष्ट पार्दै मन्त्री बास्कोटाले सरकार सबै राष्ट्रसँगको सम्बन्धलाई सुदृढ र विकसित गरेको बताए । अहिले मुलुकमा समृद्धिको यात्रालाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु गर्नुभएको स्मरण गराउँदै एक वर्षमा एक हजार मेघावाट बिजुली वृद्धि भएको जानकारी दिए ।