पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ का नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बजेटको आकार ठूलो भएपनि नयाँ कार्यक्रम केही नभएको प्रतिक्रिया दिए । प्रदेश नं.१ का सरकारले आर्थिक वर्ष २०७६–७७को वार्षिक बजेट हिजो सार्वजनिक गरेको थियो ।
प्रदेश १ पत्रकार मञ्चले आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा नेता कोइरालाले प्रशस्त रोजगार सिर्जना गर्ने क्षेत्रमा बजेटको व्यवस्था न्युन रहेको टिप्पणी गर्दै बजेट विगतका वर्षका निरन्तरता भएको बताए । उनले अनुदानमा आधारित बजेटले खासै महत्व नराख्ने भन्दै बजेटले कनिका छरेर बाँडेको जस्तो आएको प्रतिक्रिया समेत दिए ।
नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले बजेट कार्यान्वयमुखी भन्दा पनि प्रचारमुखी रहेको प्रतिक्रिया दिँदै स्मार्ट सिटी निर्माणको विषयमा बजेट मौन रहनुले विराटनगरलाई धोखा दिनु सरह रहेको बताए ।
बजेटकै विषयमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बजेटले उद्योग क्षेत्रलाई सम्बोधन गरेकाले सकारात्मक प्रतिक्रिया दिँदै बजेट कार्यान्वयनमा सरकारले ठोस कदम चाल्नु पर्ने सुझाव दिए । मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडाले सरकारले उद्योगलाई प्रोत्साहन गर्ने गरी केही रकम विनियोजन गर्नु सकारात्मक भएको बताए ।