पूर्वाञ्चल खबर
संयुक्त टोल नगर समन्वय समिति संयोजक राजेश मास्के आवत–जावतको वैकल्पिक व्यवस्थाबिना सडक खनिएका कारण सर्वसाधरणले सास्ती भोग्नु परेको बताउँछन् । ‘एकातर्फबाट पस्दा अर्कातर्फबाट निस्किने ठाउँ हुँदैन’ मास्के भन्छन्– ‘जताततै खनेका कारण सर्वसाधारणले गन्तव्यमा पुग्न सास्ती भोग्नु परेको छ ।’ भरपर्दो विकल्पबिनै महानगरपालिकाले अस्तब्यस्तरूपमा सडक खनेका कारण समस्या भएको उनको गुनासो छ ।
महानगरपालिकाले तीनपैनी चोकदेखि दक्षिण मेनरोड, जिल्ला प्रशासन कार्यालयदेखि अस्पताल चोकसम्मको सडक र अन्य भित्री सडक खनेका कारण उपचारका लागि आउने बिरामीले समस्या भोग्नु परेको छ । बाईपासका लागि सडक नभएका कारण बजार अस्तव्यस्त बनेको मास्केको गुनासो छ ।
महानगरले व्यवस्थित योजनाका साथ काम नगर्दा यस्तो समस्या आएको डा. मदन कोइराला बताउँछन् । ‘आज काम विशेषले नविल बैंक पुग्न तीनतिर बाटो घुम्नु पर्यो’ उनी भन्छन्– ‘घुमेर जाँदा पनि नबिल बैंकछेउ दुवैतर्फ खनेको अवस्था थियो ।’ अस्तब्यस्त सडकका कारण सर्वसाधारणले दुःख पाएको उनको गुनासो छ ।
योजनावद्धरूपमा काम भएन्
महानगरले सबै सडक खनेपछि अस्पताल सम्म पुग्ने यात्रुलाई पनि समस्या छ । बिराटनगरको न्यूरो अस्पताल पुग्ने दायाँ–बायाँको सडक खनिएको छ । कोशी अञ्चल अस्पताल प्रवेशद्वार पनि खनिएको छ ।
प्रवेशद्वारमै खनिएका कारण बिरामी बोकेरका एम्बुलेन्सलाई अस्पतालसम्म पुग्न समस्या छ । न्यूरो अस्पताल विराटनगरका अपरेशनल डाइरेक्टर राजेश भट्टराई कष्टपूर्ण यात्रा गर्दै बिरामी आउनु पर्ने बाध्यता रहेको बताउँछन् । ‘काम सुरू गर्दा वैकल्पिक सडक खोल्ने भन्ने सहमति थियो’ उनी भन्छन्– ‘तर अहिले नाकाबन्दी लगाएजस्तै अवस्था छ ।’
न्यूरो अस्पतालसम्म पुग्ने सडक खनिएको एक महिना भयो । तर अझै पनि नाला निर्माणको काम सम्पन्न भएको छैन । सडक भत्काएका कारण २५ रूपैयाँको भाडा लाग्ने सडकमा बिरामीले २ सय ५० रूपैयाँसम्म भाडा तिर्ने गरेको डा. कोइराला बताउँछन् । ‘योजनाबिना काम गर्दा महानगर अस्तब्यस्त भयो’ उनी भन्छन्– ‘वैकल्पिक सडक नबनाएका कारण नगरबासीले साँच्चै दुःख भोग्नु परेको छ ।’
मेयर भन्छन्– चाँडो काम सकिन्छ
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली साफ महिला फुटबल उद्घाटनअघि भित्री बजारको काम सक्ने योजना रहेको बताउँछन् । साफको तयारीका लागि काम तीब्र बनाइएको बताउँदै उनले साफअघि नै समस्या हल हुने बताए । दिउँसो र राति गरी ठेकेदारले दुई सिफ्टमा काम गरिरहेकाले छिट्टै सम्पन्न हुने उनको भनाइ छ ।
मुख्य बजार अस्तब्यस्त बनेपछि सर्वसाधरणले विरोध गरेका छन् । मेयर पराजुलीले भने सामाजिक सञ्जालमार्फत् विराटनगरबासीले भोग्नु परेको सास्तीप्रति क्षमायाचना गरेका छन् ।
फेसबुकमार्फत् उनले भनेका छन्– ‘विराटनगर महानगरपालिकाका प्रायः सबै स्थानमा विकास निर्माणका कार्यहरू द्रूतगतिमा भइरहेको छ । कतिपय बाटो बिग्रिएको र बन्ने बनाउने क्रममा छन् । यसर्थ विकास निर्माणका क्रममा महानगरबासीहरूले भोगिरहनुभएको असहजताप्रति म क्षमाप्रार्थी छु । महानगरबासीले पाउनुभएको सास्ती चाँडै नै हल हुनेमा आशावादी छु ।’