खबर पूर्वाञ्चल
विराटनगरमा हुने हरेक भ्रष्टचार विरुद्धको अभियनमा प्ले कार्ड बोकी अभियानमा सरिक हुने कर्ण ९ करोड ठगी आरोपमा पक्राउ परेका हुन् । उनी माछापुच्छ्रे सहकारीको सञ्चालक भएर ( करोड रुपैंयाँ ठगी गरेको आरोप लागेको हो । गरिबको रकम निजी सम्पत्ती बनाएर दुई वर्षदेखि भूमिगत भएका कर्ण पक्राउ परे लगत्तै बिरामी परेका छन् । कर्णलाई रक्तचाप बढेर अस्पतालमा राखिएको छ । करिव एक हजार जनाको बचत रकम हिनामिना गरेको उनलाई आरोप लागेको छ ।
बुधबार पक्राउ परेका कर्णलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट म्याद थप गराई प्रहरीले अरु आरोपीको खोजी गरिरहेको छ । अरु आरोपी नभागुन भनेर कर्ण पक्राउ परेको विषयमा प्रहरीले सूचना गोप्य राखेको छ । एक जना पक्राउ गरिएको र अरु आरोपी पनि पक्राउ गर्नुपर्ने भएकाले सार्वजनिक नगरिएको मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।
शारीरिक सुगठन र मोडलिङबाट सहकारीमा प्रवेश गरेका ५० वर्षीय कर्णका निकट साथीहरुका अनुसार उनलाई कुनै पनि रोगको समस्या थिएन ।
नियमित जिम गर्ने भएकाले स्वस्थ्य रहने उनी रोगी नभए पनि ठूलो रकम हिनामिनाको आरोप लागेपछि उच्च रक्तचापको समस्यामा परेको अनुमान उनी निकटहरुले गरेका छन् । रक्तचाप बढेकाले कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कर्णबिरुद्ध ५० भन्दा बढीले बचत रकम दिलाई दिन र ठगी गर्नेलाई कारवाही गर्न माग गर्दै निवेदन दिई सकेका छन् । सहकारीका २६ जनाबिरुद्ध प्रहरीमा जाहेरी परे पनि अध्यक्ष मात्रै पक्राउ परेको बताइएको छ ।
विराटनगरको माछापुच्छ्र्रे सहकारीका अध्यक्ष अमलेश अरुको भनाईका पछि कुद्ने भएर सर्वसाधारणको रकम ठगीमा एक्लै डुबेका हुन् । यद्यपी उनी प्रहरीसँगको सम्पर्कमा पनि थिए । प्रहरीको नियन्त्रणपछि उनी बिरामी समेत परेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार उनी विरुद्ध सहकारी ठगी कसुरमा अनुसन्धान भईरहेको छ । उनी विरुद्ध बचत रकम दिलाई दिन र ठगी गर्नेलाई कारवाही गर्न माग गर्दै पीडितले निवेदन दिएका छन् ।
तपाईको प्रतिक्रिया