AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको नोवेल अस्पतालको लापरवाहीले गर्दा ७ वर्षीयले गुमाए आँखाको ज्योति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०८२, आईतवार १८:०१
189
Shares
विराटनगर / विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालमा नाकको शल्यक्रिया (अप्रेशन) गर्दा सुनसरीको इटहरी घर भएका ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको छ ।

नाकभित्र पलाएको मासुको शल्यक्रिया गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिस पाठकको दाहिने आँखाको ज्योति गुमेको अभिभावकले बताएका छन् । बालकको दाहिने आँखा भित्र पसेको छ ।

नाकको दाहिनेतर्फ प्वालमा मासु पलाएपछि मंसिर ४ गते आफन्तले नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए । चिकित्सकको सल्लाह अनुसार मंसिर ५ गते शल्यक्रिया पनि भयो । भोलिपल्ट नोबेलले बालकलाई हतारहतार डिस्चार्ज गरेको अभिभावकको भनाइ छ ।

जेनिसका मामा श्रीकृष्ण प्रसाईंका अनुसार आँखाको ज्योति गुमेपछि चिकित्सकले हतारहतार डिस्चार्ज गरेका हुन् । नोबेलले डिस्चार्ज गरेपछि आफन्तले शनिबार विराटनगर आँखा अस्पताल रानीमा भर्ना गरे ।

विराटनगर आँखा अस्पतालका चिकित्सकले दाहिने आखाँको भित्री भाग ‘ड्यामेज’ भएका कारण ज्योति नफर्कने भन्दै शल्यक्रिया गर्न मानेनन् । चिकित्सकका अनुसार बालकको पुनः आँखाको ज्योति फर्कने सम्भावना २ प्रतिशत भन्दा कम छ । आँखाको भित्रीभागको हड्डी निकालेका कारण आँखामा गम्भीर चोट लागेको चिकित्सकको भनाइ छ ।

‘भान्जाको स्वास्थ्यमाथि नोबेलले गम्भीर लापरबाही गरेको छ । ७ वर्षको उमेरमा आँखाको ज्योति नै गुम्यो,’ मामा श्रीकृष्णले भने, ‘हामीलाई ‘डिपार्टमेन्ट हेड’ले शल्यक्रिया गर्ने भनिएको थियो । सिकारु डाक्टरलाई खटाइएको रहेछ ।’ उनका अनुसार शुक्रबार नाकको शल्यक्रियापछि नस्किएका चिकित्सकले नाकभित्र पलाएको मासु आँखासम्म पुगेकाले आँखामा सामान्य समस्या भएको बताएका थिए ।

शल्यक्रियापछि आफन्तले भेट्दा बालकको एउटा आँखाको ज्योति गुमिसकेको थियो । सोधीखोजी गर्दा आँखा अस्पताल लैजानु भन्दै हतारहतार डिस्चार्ज गरे । लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई कारबाही गर्न माग गर्दै मामा श्रीकान्तले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् ।

अस्पतालले जिस्चार्ज गरेलगतै उनले जिल्ला प्रशासन कार्यालय मोरङमा नोबेल शिक्षण अस्पताल, उपचारमा संलग्न डाक्टर प्रज्वल श्रेष्ठ र कविराज बास्तोलालाई कारबाहीको माग गर्दै निवेदन दिएका हुन् । उजुरीलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

‘बालकको आँखा गुमेको विषयलाई गम्भीर रुपमा लिएका छौं । उजुरीपछि छानबिनका लागि प्रहरीमा पठाएका छौं । प्रहरीले छानबिन गर्दै छ । छानबिन रिपोर्ट प्राप्त भएपछि कारबाहीका लागि मेडिकल काउन्सिलसँग समन्वय गर्छौं,’ उनले भने । प्रजिअ कट्टेलले कारबाहीका लागि चिकित्सक टोलीसँग पनि परामर्श गर्ने उनले बताए ।

उपचारमा लापरबाही गरेको विषयमा बुझ्न खोज्दा नोबेलका प्रशासन प्रमुख सम्पर्कमा आउन चाहेन । उक्त अस्पताल कांग्रेस नेता एवं मोरङ क्षेत्र नम्बर ३ का तत्कालीन प्रतिनिधिसभा सदस्य डाक्टर सुनील शर्माको हो ।

उपचारमा संलग्न डाक्टर श्रेष्ठले नाकको शल्यक्रिया गर्दा बालकको आँखामा समस्या भएको स्वीकार गरे । उनले लापरबाही नभएको दाबी गरे । ‘रोग बालकको आँखाको साइटतिर पनि गएको थियो । त्यहाँबाट पलाएको मासु निकाल्दा आँखाको ‘साइट’को बोन ९हड्डी०पनि निकाल्न पर्यो । त्यो निकाल्दा आँखाको भाग ‘एक्सपोज’ भएर चोट लागेको हो । नाकको शल्यक्रिया गर्दा ‘कम्प्लिकेसन’ आउँछ । तर, सबै केसमा होइन,’ उनले भने । बालकको आफन्तको कुरा सुन्ने डा। श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर