AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ चैत्र २०८१, बिहीबार १७:४६
459
Shares
विराटनगर / नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ ।

आज बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय गरेको बैठकले जन संगठनहरुको प्रतिनिधि चयन चैत्र २९ गते गर्ने महानगरका सचिव बलराम गिरीले बताए । उनका अनुसार महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा महानगर कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव रहनेगरी २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै सचिव बलराम गिरीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, प्रवक्ता राम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ ।

आर्थिक उपसमितिको संयोजकमा मनोज विक्रम साह र सहसंयोजकमा सी एम श्रेष्ठ रहेका छन् भने प्रकाश पोखरेलको संयोजकत्वमा स्वयंसेवक उपसमिति बनाइएको छ । राजनितिक तथा सांगठनिक प्रतिवेदन लेखन उपसमितिको संयोजक अध्यक्ष कोइराला र अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष सुनिता श्रेष्ठ रहेकी छिन् । यस्तै सचिवालय सदस्य राम पाण्डेको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ भने खाद्यान्न तथा आवास उपसमितिको संयोजकमा भोला बराल रहेका छन् ।

बैठकपछि अध्यक्ष कोइरालाले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न महानगरको सिंगो टिमलाई नै विभिन्न जिम्मेवारीका साथ परिचालन गरिएको जानकारी दिए। उनले प्रतिनिधि चयन पनि सबैको प्रतिनिधित्व हुने गरि व्यवस्था मिलाइएको बताए । उनका अनुसार भुगोलबाट हरेक १५ जना संगठित सदस्य बराबर १ जना हुनेगरि प्रतिनिधि चयन हुनेछन् । यस्तै ३ जना प्रतिनिधि बराबर एक जना महिला अनिवार्य रहेको उनले बताए। यस्तै कुल प्रतिनिधिको २० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सीमान्तकृत, दलित, मुस्लिम, अल्पसंख्यक, मारवाडी प्रतिनिधित्व समेत सुनिश्चित हुने उनले बताए ।

सचिवालय बैठकलाई सम्बोधन गर्दै एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा महानगरका इन्चार्ज पर्शुराम बस्नेतले एमालेभित्र कुनै गुट नरहेको भन्दै सर्वसम्मत का साथ नेतृत्व चयनमा जोड दिनुपर्ने बताए। उनले अहिले एमालेका विभिन्न नेताहरुको नाममा गुटबन्दी रहेको हल्ला चलाएर एमालेलाई कमजोर बनाउने तत्वहरु कृयाशील रहेको भन्दै त्यसमा सबै सचेत हुनुपर्ने बताए। उनले भने, एमालेको लोकप्रियताबाट छटपटिएकाहरुले पार्टी र नेताहरुमाथि प्रहार गर्ने गरिरहेका छन्, त्यसको हामी सबैले एकमतका साथ प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।’

एमाले मोरङका सचिव सोमराज थापाले एमाले जत्तिको व्यवस्थित, अनुशासित पार्टी कुनै नभएको भन्दै महानगरको दोस्रो अधिवेशनले अभूतपूर्व एकताको सन्देश दिएर सम्पन्न हुने विश्वास ब्यक्त गरे। एमाले नेतृ तथा विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले ब्यक्तिलाई नभई पार्टीलाई अघि बढाउने गरि अघि बढ्न आग्रह गरिन्। उनले पार्टीभित्र ब्यक्ति केन्द्रमा राखेर राजनीति भइरहेको भन्दै त्यसले सिङ्गो पार्टीलाई क्षति पुग्ने बताइन्। उनले भनिन,‘व्यक्ति हैन पार्टीलाई बलियो बनाउन लागौँ, यसमै सबैको हित हुन्छ ।’ उनले पार्टी नेतृत्वले जनप्रतिनिधिहरुलाई समेत मार्ग निर्देश गर्नुपर्ने भएपनि विराटनगरमा त्यस्तो हुन नसकेको गुनासो गरिन्। उनले भनिन,‘हामी धेरै पटक छलफलमा बस्यौं, राय माग्यौं, तर कहिल्यै पाइएन । बरु उल्टै चिया पसल, मिडिया र विभिन्न फोरममा पुगेर आफ्नै जनप्रतिनिधिको आलोचना मात्रै भयो । यस्तो प्रवृत्तिले जनप्रतिनिधिलाई मात्र हैन सिङ्गो पार्टीलाई क्षति पुग्छ भन्ने बिर्सनु हुँदैन ।’ उनले अबको महानगरको नेतृत्व अभिभावकत्व ग्रहण गर्नसक्ने क्षमताको बनाउन समेत सुझाव दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर