विराटनगर/ मोरङको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप दुई वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।
जहदा गाउँपालिका ७ मा रहेको तारिगामा र मधुमल्लामा बिहीबार बिओपी स्थापना गरिएको हो ।
स्थापना भएको दुवै विओपीको उद्घाटन सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनी कुमार पोखरेलले गरे । यो संगै मोरङमा बिओपीको संख्या १० पुगेको छ । डिएसपीको नेतृत्वमा रहने प्रस्तावित गुल्म तीन वटा रहेको छ । बिहीबारदेखि संचालनमा आएको दुई वटा विओपीमा सइको नेतृत्वमा २० जना सशस्त्र प्रहरी रहने सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति एसपी तिर्थ बहादुर थापाले बताए ।सशस्त्र प्रहरीका डिआइजी अञ्जली कुमार पोखरेलले सरकारले नेपाल भारत सीमा क्षेत्रमा ५ सय बिओपी स्थापना गर्ने लक्ष्य अनुसार अहिलेसम्म देशभर २ सय ८५ वटा बिओपी स्थापना भएको बताए । योसँगै मोरङमा ६३ किलोमिटर नेपाल–भारत सीमा भएको क्षेत्रमा तीन वटा प्रस्थाबित गुल्म र १० वटा बिओपी भएको बताए ।
कोशी प्रदेशमा नेपाल –भारतको सीमा क्षेत्रको दुरी ४२७ किलोमिटरमा १० वटा प्रस्थापित गुल्म र ४७ वटा बिओपी स्थापना भएको डिआइजी पोखरेलले बताए । ११ किलोमिटरको दुरीमा बिओपीहरु रहेको उनले बताए । सीमा क्षेत्रमा १ हजार ४ सय सशस्त्र प्रहरी सुरक्षामा खटिएको बताए । पहाडी जिल्लाहरुबाट सशस्त्र प्रहरी ल्याएर तराइको सीमा क्षेत्रमा सुराक्षाकर्मीहरु परिचालन गरिएको छ ।
‘यसअघि एउटा बिओपीमा १४÷१५ जना सुरक्षाकर्मी खटिएका थिए । म आएपछि स्थरउन्नती गरेर अगाडी बढाएको छु,’ उनले भने, ‘सहीको नेतृत्वमा रहेको बिओपीमा २० जना, प्रहरी निरीक्षकको नेतृत्वमा रहेको बिओपीमा २५ जना र डिएसपीको नेतृत्वमा रहेको गुल्ममा ३० जना जनशक्तिको व्यवस्था गरी सीमा सुरक्षामा खटाउने नीति लिएको छु । यो नीति कार्यन्वयन गर्न पहाडी जिल्लामा खटिएका जनशक्तिलाई तराइमा ल्याएको छ ।’
देशको आन्तरिक सुरक्षामाको महत्व सबैभन्दा ठूलो कुरा सीमा सुरक्षाबाट हुने डिआइजी पोखरेलले बताए । ‘सीमा सुरक्षा प्रभावकारी रुपमा भयो भने आन्तरीक सुरक्षा ७० प्रतिशत समस्याको सावधान हुन्छ,’ उनले भने, ‘चोरी, निकासी, लागूऔषध, अपराधलगायतका अन्य विभिन्न घटनाका जुन आन्तरिक सुरक्षामा घटछन् । त्यो नियन्त्रणमा आउनेछ ।’
सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा पनि मजदुत भएर जाने उनले बताए । यसरी सीमा क्षेत्र कडाइ गरी आन्तरिक सुरक्षामा टेवा दिने उनको भनाई छ ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव, कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीलगायतले कार्यक्रममा बोलेका थिए ।
तपाईको प्रतिक्रिया