animated ellipse animated ellipse

उच्च अदालत विराटनगरले मोरङ कारागारका चौकीदार कैदी अभिषेक गिरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०७९, बिहीबार १८:२१
585
Shares
विराटनगर / उच्च अदालत विराटनगरले मोरङ कारागारका चौकीदार कैदी अभिषेक गिरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्धोय रामबहादुर थापा र मिलनकुमार राईको संयुक्त इजालशले आज यस्तो आदेश गरेको हो । आफ्नो स्थानान्तरणको निर्णय बदरका लागि अन्तरिम आदेश माग गर्दै कैदी गिरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । अदालतले अन्तरिम आदेश नदिएपछि उनलाई मकवानपुर कारागार कार्यालय भीमफेदी लैजाने बाटो खुलेको छ ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले गिरीले दायर गरेको रिटमा उच्च अदालतले अन्तरिम आदेश नदिएको जानकारी दिए । ‘निवेदकको माग बमोजिम अदालतले अन्तिम आदेश दिएन,’ उनले भने, ‘अब निर्णय कार्यान्वयन गर्न बाटो खुल्यो ।’ गिरीले जेल सरुवा रोक्नका लागि अन्तरिम आदेशको माग गर्दै ३ माघमा रिट दायर गरेका थिए ।

कारागारका चौकीदारलाई कारागारबाट बाहिर हिँड्न छुट हुन्छ । विराटनगर कारागारमा रहेर बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि गिरीलाई कारागार व्यवस्था विभागले गत पुस २९ गते सरुवा गर्ने निर्णय भएको थियो ।
‘कारागार व्यवस्थापन विभागले कैदी बन्दी व्यवस्थापनको क्रममा गत पुष २९ को निर्णयले गिरीलाई कारागार कार्यालय मकवानपुरमा स्थानान्तरण गरेको थियो । सो निर्णय गर्न पाउने अधिकार कारागार ऐन, २०१९ र कारागार नियमावली, २०२० ले विपक्षी कारागार व्यवस्थापन विभागलाई रहने देखियो । नेपालको संविधान, कारागार ऐन, २०१९ कारागार नियमावली, २०२० ले बन्दी सरुवा वा स्थानान्तरण गर्न नपाइने भन्ने अधिकारको रूपमा कैदी बन्दीलाई प्रदान गरेको नदेखिएको तथा विपक्षी कारागार व्यवस्थापन विभागबाट निजलाई स्थानान्तरण वा सरुवा गर्ने गरेको निर्णय प्रथम दृष्यमा कानुनी त्रुटि रहेको नदेखिएको अवस्थामा निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन । नियमानुसार पेस गर्नू,’ उच्च अदालत विराटनगरले गरेको आदेशमा उल्लेख छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको फागुन ३ गते कैद भुक्तान सिकिँदै छ । गिरीलाई २०७८ मङ्सिर ९ गते मोरङ कारागारमा चौकीदारको रूपमा ल्याइएको थियो ।

गिरी २०७४ चैत २३ गते भन्दा अगाडि मोरङ कारागारमा चौकीदार थिए । कैदीबन्दीलाई यातना र बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि उनलाई २०७४ चैत २३ गते डिल्लीबजार कारागार लगिएको थियो । तर नेपाली कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री भएपछि उनी २०७८ मंसिर ९ गते दोस्रो पटक मोरङ कारागार आएर चौकीदार बनेका थिए ।

गिरी नेपाली कांग्रेसको स्थानीय नेताको संरक्षणमा छन् । दोस्रो पटक गिरीलाई मोरङ ल्याउने क्रममा कारागार भित्र विवाद भएको थियो । उनलाई मोरङ ल्याउनका लागि मोरङ कारागारका तीन जना चौकीदारलाई मोरङबाट अन्यत्र सारिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर