खबर पूर्वाञ्चल
हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारै जानकारी गराएको हो।
‘शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने मूल मन्त्रका साथ आयोजना हुन लागेको यस स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरका संस्थागत विद्यालय र कलेजका कक्षा ११ र १२ मा अध्ययनरत करिब ३२ हजार विद्यार्थीहरूमध्येबाट छनौट भएका उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
पत्रकार सम्मेलनमा बोल्दै हिसान मोरङका अध्यक्ष अमित ढकालले खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा अनुशासन कायम राख्न, स्वस्थ नागरिक उत्पादन गर्न र उनीहरूलाई लागुपदार्थको कुलतबाट बचाउन यो प्रतियोगिता महत्वपूर्ण हुने बताए ।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फ बास्केटबल, क्रिकेट, कबड्डी तथा पुरुष र महिला दुवैतर्फ फुटबल, भलिबल, टेबल टेनिस सिङ्गल, डबल र एथलेटिक्स लामो र छोटो दुरीको दौड विधामा प्रतिस्पर्धा हुने हिसान मोरङका सचिव भुवन नेपालले जानकारी दिए ।
यस वर्ष फुटबलमा २४ टिम, भलिबलमा २० टिम र क्रिकेटमा १९ टिमको सहभागिता रहनेछ। विगतको तुलनामा यस वर्ष महिला फुटबल टोलीको संख्यामा ५० प्रतिशतले वृद्धि भएको आयोजकले जनाएको छ। क्रिकेट खेल विराटनगरको जुटमिलस्थित क्रिकेट मैदानमा हुनेछ भने फुटबल सहिद रंगशालामा सञ्चालन हुनेछ। अन्य खेलहरू डीपीएस स्कुलको हातामा हुनेछन्।
माघ १७ गते हुने समापन समारोह तथा फुटबलको फाइनल खेल सहिद रंगशालामा रात्रिकालीन समयमा फ्लडलाइटमा सम्पन्न गरिनेछ। विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गरिनेछ। साथै, शैक्षिक प्रोत्साहनस्वरूप कक्षा ११ को वार्षिक परीक्षामा प्रथम हुने प्रत्येक विद्यालयका एक छात्र र एक छात्रालाई नगदसहित सम्मान गरिने परम्परालाई पनि निरन्तरता दिइनेछ।
२०६५ देखि विभिन्न अवरोधका बाबजुद निरन्तर आयोजना हुँदै आएको यस स्पोर्ट्स मिट सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसको व्यवस्थापन हिसान मोरङले आन्तरिक स्रोतबाटै गर्ने अध्यक्ष ढकालले जानकारी दिए ।