पूर्वाञ्चल खबर
फान्स पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डसँग ५–४ ले पराजित भएपछि युरोकप यात्रा अन्तिम १६ बाट सकिएको हो ।
फान्समाथि ऐतिहासिक जित हात पारेको स्विट्जरल्याण्ड पहिलो पटक युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डले ६७ वर्षयता ठूलो प्रतियोगितामा नकआउट चरणको खेल जितेको यो पहिलो पटक हो ।
रोमानियामा भएको आज विहानको रोमाञ्चक खेलको रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलेको थियो । पेनाल्टीमा स्विट्जरल्याण्डले बाजी मार्यो ।
पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे भने एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए ।
उता स्विट्जरल्याण्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे।
त्यसअघि निर्धारित समयमा पनि स्वीस टोलीले नै पहिलो अग्रता लिएको थियो । खेलको १५औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा स्विट्जरल्याण्डले पेनाल्टी पाएको थियो तर रिकार्डाे रोड्रिगेजले पेनाल्टीमा गोल गर्न नसक्दा स्विट्जरलयाण्डले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । उनको पेनाल्टी प्रहार फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिसले बचाए ।
करिम बेन्जामा दुई मिनेट अन्तरमा दुई गोल गरेपछि फ्रान्सले अग्रता लियो । बेन्जामाले ५७ औं मिनेटमा बराबरी गोल गरे भने ५९औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । यस युरोमा बेन्जामाले व्यक्तिगत चार गोल गरे ।
त्यसपछि खेलको ७५औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए । दुई गोलको अग्रतापछि फ्रान्स जितनजिक थियो । तर ८१ औं मिनेटमा स्विट्जरल्याण्डका सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए ।
९० औं मिनेटमा स्विट्जरल्याण्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकियो । थप गरिएको ३० मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
जहाँ स्वीस गोलकिपर यान सोमेर नायक बने । एमबाप्पेको पेनाल्टी प्रहार रोक्दै उनले स्विट्जरल्याण्डलाई ऐतिहासिक जित दिलाउन मद्दत गरे ।
सन १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको स्विट्जरल्यान्ड ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । अब स्विट्जरल्याण्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
साविक विजेता पोर्चुगल पछि साविक उपविजेता तथा उपाधि दाबेदार फ्रान्स पनि अन्तिम १६ बाटै आउट भएपछि युरोकप रोमाञ्चक बनेको छ ।
२०१६ मा फ्रान्समा भएको युरोमा सेमिफाइनल खेलेका चारमध्ये तीन टिम पोर्चुगल फ्रान्स र वेल्स बाहिरिसकेका छन् । त्यो बेला सेमिफाइनल खेल्ने बेल्जियम यस पटक क्वाटरफाइनल पुगिसकेको छ ।