अब हिउँदमा पनि ढुक्क, वर्षातमा पनि ढुक्क

खबर पूर्वाञ्चल, ११ फाल्गुन २०७७, मंगलवार १९:२१

मनोज दाहाल
विराटनगर / नाम अनुसारको कामले गर्दा वर्षेनी मोरङको बक्राहा नदीबाट जनजीवन प्रभावित हुनुकासाथै जनधनको पनि क्षति भइरहेको छ ।

बर्षातमा उर्लिएर आउने बाढीका कारण जनधनको क्षति भइरहेको बताइएको छ । हेर्दा सामान्य जस्तो देखिने यो नदीबाट जमीन कटान र बस्ती डुबानमा पर्ने गरेको छ । नदीमा आउने बाढी र कटानको समस्यालाई समाधान गर्न वर्षेनी मानिसहरुले आवाज उठाइरहेका छन् । नदी नियन्त्रणको काम पनि नभएका होइन, तर नदीमा उर्लिएर आउने बाढीको अगाडि कसको के लाग्छ । अनियन्त्रित बाढी नै मानिसको दुःखको कारण बन्न जान्छ ।नदीले वर्षेनी दुःख दिन थालेपछि भर्खरै सरकारले कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना कार्यालय विराटनगरमा स्थापना गरेको छ भने यसबाट नदीको किनार तथा छेउछाउमा बसेका मानिसहरु उत्साहित भएका छन् ।

मोरङको पूर्वीउत्तर क्षेत्र उर्लावारी नगरपालिका वडा नं १ निवासी सोमनाथ अधिकारीको घर नजिकै बक्राहा नदीमा बाँध लगाउने जानकारी पाएपछि उनी हर्षित भए । शिरानबाट बगेर आउने यो नदीमा पानीको अत्याधिक बेग हुन्छ । उनले नदीले वर्षेनी धार परिवर्तन गर्नाले पनि कुन वर्ष केह हुन्छ अनुमान लगाउन गाह्रो रहेको बताए ।

उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले यस वर्ष बक्राहा लगायत मोरङका अन्य नदी गरी १५ स्थानमा तटबन्ध निर्माण गर्ने योजना बनाएको छ ।

चालु आर्थिक वर्षमा आयोजनाले बक्राहा, लोहन्द्रा, चिस्याङ र डाँसबक्राहा नदीमा तटबन्ध निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख डिभिजन इन्जिनियर कैलाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मिक्लाजुङ्ग–६ मा ३ सय मिटर तटबन्ध निर्माणका लागि ९२ लाख, उर्लाबारी –३ र ८ ३ सय ५० मिटर तटवन्ध निर्माणका लागि १ करोड ६५ लाखको बोलपत्र आहवान भइसकेको छ भने पथरीशनिश्चरे नगरपालिका–५ मा १ सय मिटरका लागि ५५ लाख, सुनवर्षीे –६ कयाक्षी र ७ को चेतामा क्रमशः २७५ मिटर र ३१५ मिटर तटवन्ध निर्माणका लागि दुई करोड ५२ लाख बजेट विनियोजन भएको छ ।

यसैगरी रतुवामाई नगरपालिकाको –१ सोनापुरमा १८३ मिटर तटवन्ध निर्माणका लागि ८७ लाख ९६ हजार बजेट निकासा भएको छ । आयोजनाले यी आठ स्थानमा छ करोड ६१ लाखको लागतमा एक हजार ५२३ मिटर तटवन्ध निर्माण गरिने भएको छ ।

बक्राहा बाहेक लोहन्द्रा खोला बग्ने बेलबारी –१ र ५, ग्रामथान गाउँपालिका –४, कटहरी गाउँपवालिका –२, चिीस्याङ बग्ने कानेपोखरी– ५ र ८, रंगेली –८, र डाँसबक्राहा बग्ने पथरीशनिश्चरेको वडा नंं ८, ९ र १० मा तटवन्ध गरिने आयोजनाले जनाएको ।

कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले बक्राहा नदीका सात स्थान र अन्य तीनवटा खोलाका आठ स्थान गरी जम्मा १५ स्थानमा तटवन्ध निर्माणका लागि सहमति पत्रमा हस्ताक्षर हुन मात्र बाँकी रहेको बताइएको छ ।

गत वर्षको बाढीले बढी असर गरेका स्थान, स्थानीयवासी र जनप्रतिनिधिको सुझाव अनुसार तटवन्ध निर्माण गरिने स्थानको छनौट गरिएको आयोजनाका इन्जिनियर रिन्जे गुरुङले बताए । नदीमा आएको वाढीका कारण गत वर्ष ७५ घर बगाइएको थियो । बर्षायाम शुरु हुनुअघि नै काम सम्पन्न गर्नेगरी काम अघि बढेको उनले जानकारी दिए ।

खेती योग्य जमीनलाई नदीको कटानबाट जोगाउन बर्षायाम अघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी छुट्टाछुट्टै निर्माणका लागि प्याकेजमा टेण्डर आव्हान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

मोरङमा बक्राहा, लोहन्द्रा, चिस्याङ र डाँस–बक्राहाले नदीमा आएको बाढीले बढी क्षति गर्दै आएका छन् । नदीले वर्षेनी लाखौँ मूल्य बरावरको धानबाली नष्ट गरेर उब्जाउ जग्गा बगरमा परिणत हुने गरेको छ । बाढीका कारण सयौैँ घरहरु नष्ट हुनु र हजारौँ घरहरु डुबानमा पर्नु यो नदीको मूल विशेषता रहेको छ ।

उर्लाबारी नगरपालिका वडा नं १ का नरबहादुर विश्वकर्माको खोला छेउमा घर भएकोले बर्षातको समयमा आउने बाढीले त्रसित बनि रातभरि जाग्राम बस्नु परेको दुःख सुनाए । बक्राहा नदीमा आउने बाढीले मेरो केही खती बगरमा परिणत भएको छ र यसबाट जोगिन सरकारले ठोस योजना बनाउनु पर्ने भनाई विश्वकर्माको छ ।

मोरङको सबैभन्दा दूर्गम स्थान मिक्लाजुङ्ग निवासी राधा निरौला भन्नु हुन्छ ‘ मानिसले दिएको दुःख सहन सकिन्छ तर खोलाले दिएको दुःख सहन गाह्रो छ किनकी खोलाले एकैपटक सबै थोक बगाएर लैजान्छ ।’ सोही स्थानका न्यौपाने बस्तीमा पनि बक्राहा नदी गाउँघरमै पसेर दुःख दिएको कुरा बिर्सन नपाउँदै फेरी त्यही दुःखको चपेटामा पर्ने गरेकाले न्यौपाने बस्तीका बासिन्दाहरु हिउँदमा भने ढुक्क भएर घरमा बस्ने गरेका छन् ।

मिक्लाजुङ्ग –६ का देवी निरौलाले खोला भन्दा बस्ती तल भएकाले यस क्षेत्रमा जोखिम धेरै भएको बताउनु हुन्छ । बाढी आउनासाथ बस्तीमा पसिहाल्ने हुनाले दिगो व्यवस्थापनका लागि धेरै पटक गुनासो सम्बन्धित निकायमा गर्दै आएको बताए ।

बस्ती विस्तार हुनु र खोला साँघुरिदै गएपछि बस्ती झन बढी जोखिममा पर्ने गरेको आयोजनाको अध्ययन रहेको छ । आयोजनाका इन्जिनियर रिन्जे गुरुङले स्वतन्त्र रुपमा बग्ने नदी मानिसहरुका कारण खुम्चिदै गएकाले समस्या बढेको अनुभव सुनाए । एउटा तटबन्धले ४० देखि ५० हेक्टर जमीनलाई बाढीको क्षतिबाट जोगाउन सकिने इन्जिनियर गुरुङले बताए ।

मोरङमा सबै भन्दा बढी दुःख दिने बक्राहा नदीलाई नियन्त्रण एवं व्यवस्थित गर्न आगामी वर्षदेखि एशियाली विकास बैंक (एडिवी)ले पनि लगानी गर्ने योजना बनाएको आयोजनाले जनाएको छ । दीर्घकालीन समस्याको स्थायी रुपमा समाधानका लागि नदी नियन्त्रणका लागि सर्भेको काम भइरहेको छ ।

बक्राहा नदीको समस्या समाधानका लागि योजनाबद्ध रुपमा काम गर्न आवश्यक रहेको नदी क्षेत्रका प्रभावित मानिसहरुको भनाइ छ । उर्लाबारी–१ का वीरबहादुर माझीले बक्राहा नदीले खेती योग्य जमीन सबै लग्दा भूमिहीन हुनुपरेको गुनासो पोखे । उनले खोला छेउ लागेपछि खोलाको बीचमा विरुवा लगाएर बाली लगाउन शुरु गरेपनि केही वर्र्ष पछि हुर्किएका बिरुवा समेत बाढीले बगाएर लगेको बताए । उनले भने ‘ नदी व्यवस्थापन भएपछि खोलोमा पसेको जग्गा फेरी प्राप्त गर्न सक्थे र मेरो दिनचर्या पनि परिवर्तन हुनसक्थ्यो ।’

आयोजना प्रमुख श्रेष्ठले कार्यालयले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि नियमित रुपमा अनुगमन गर्ने गरिएको जनाकारी दिए । आयोजनाले गत वर्ष नौ करोडको लागतमा दुई हजार ३१६ मिटर तटवन्ध निर्माण गरेको थियो । उनले भने भर्खरै स्थापना भएको कार्यालयले एकैपटक धेरै काम गर्न नसकिएपनि विस्तारै सबै काम हुँदै जाने र यसबाट नागरिक अत्याधिक लाभान्वित हुने दावी गरे । रासस

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५