animated ellipse animated ellipse

निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०७८, आईतवार १०:५६
1.03k
Shares
विराटनगर/ प्रदेश १ को राजधानी विराटनगरमा आज विहानैदेखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन विराटनगरका सडकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

विराटनगर प्रवेश गरिने प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि प्रहरीहरु खटिएका छन् ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न विराटनगरमा आजदेखि एक हप्ता निषेधाज्ञा सुरु भएको हो । निषेधाज्ञाको पहिलो दिन आज विराटनगरका सडकमा चहलपहल निकै घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन् । चोकचोकमा बसेर नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् ।

निषेधाज्ञा कडाइका साथ लागू गर्न विराटनगरभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ । सडकमा गुडेका सवारी नियमन र अनुगमन र निषेधाज्ञा कडाइको साथ लागू गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

निषेधाज्ञा पालना गराउनकै लागि विराटनगर क्षेत्रमा ८ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरी खटाइएको एसपी खड्काले बताए । सडकमा चेक प्वाइन्ट, पिकेट, मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र सादा पोसाकका सुरक्षाकर्मीलाई फरक–फरक भूमिकामा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी र सशस्त्रले निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने बताएको छ । अत्यावश्यक सेवा र अनुमतिवाहेकका सवारी र पैदलै मानिसको आवागमन भए नियन्त्रणमा लिने प्रहरीले जनाएको छ । औषधी, खाद्यवस्तु तथा अत्यावश्यक सेवा वस्तु खरिद गर्न बाहेक हिँडडुलमा रोक लगाइएको छ । दुध, खाद्यवस्तु, खाना पकाउने ग्यास तथा तरकारी आपूर्ति प्रणाली बिहान १० बजेसम्म गरिसक्नुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो लहरमा फैलिएपछि यसको रोकथाम र नियन्त्रणको लागि शनिबार राती १२ बजेपछि लागू हुने गरि विराटनगर महानगरपालिकासहित बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा आदेश जारी गरिएको हो । मोरङमा शनिबारसम्म १७ सय ८३ जना कोरोनाभाइरसको सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर