खबर पूर्वाञ्चल
खनालले घर अघिको सडकमा महानगरले रोपेको विरुवालाई सुरक्षित रुपमा हुर्काउन उद्धत रहदै आएका छन् । तीनपैनी पानीटंकीदेखि पुष्पलाल चौकसम्म महानगरको वडा नम्बर १ र ३ को सीमामा पर्ने करिब अढाई किलोमिटर सडकको बीचमा विरुवा लगाएर महानगरले नमूना सडकमा रुपमा चित्रण गरेको छ । सोही सडकमा राखिएको विरुवालाई आकर्षक बनाउने काममा खनाल अहिले जुटेका छन् । फिफाका पूर्व सहायक रेफ्री एवं नेपाल रेफ्री संघको केन्द्रीय सदस्य समेत रहेका खनाल भन्छन्, ‘निषेधाज्ञाको समय कटाउन र आफ्नै वरिपरि राम्रो बनाउनका लागि खटिएको हुँ । पहिलेबाटै जानेको सिपलाई अहिले उजागर गरेको मात्र हुँ । अहिले घर अघिको एउटा क्यारीमा करिब २० वटा विरुवालाई आकर्षक रुप दिन लागेको परेको उनले बताए ।’
यसक्रममा नजिकमा रहेका छरछिमेक भने अलि भिन्न प्रकारबाट उनको कामलाई हेर्ने गरेको दुखेसो छ । केहीले काम गरेकोमा राम्रो सद्भाव दिने बताएका खनालले भने, ‘ए काम पाईस्, नगरपालिकाले काम दियो’ भन्दै केहीले गिज्ज्याउने समेत गरेको उनको गुनासो छ । तर उनीहरुलाई उनी उस्तै भाषामा ‘हो नगरपालिकाले काम दियो’ भन्दै उत्तर फर्काउने गर्छन् । यस कुराबाट विचलित नभई उनी आफ्नै काम र विरुवा संरक्षण र आकर्षक बनाउन लागि परेका छन् ।
सार्वजनिक सम्पत्तीको संरक्षण गर्न लागि सबै एकैभए आफ्नै नगर सफा र सुन्दर हुने बताएका खनालले घरअघिको क्यारीमा आफूले समेत विरुवा रोपेको बताउँछन् । सो सडकलाई महानगरपालिकाले नमूना सडक बनाउने लक्ष्यसहित ५ वर्षअघि जिल्ला वन कार्यालयको समन्वयमा धुपी, निलकाँडा, सानो प्रकारको सिरीषको विरुवा लगाएको हो ।
सडकमा विरुवा रोपिएपनि सर्वसाधारणबाट चोरी हुने, उखेलिदिने, भाँची दिनेलगायतका समस्या रहदै आएको महानगरले जनाएको छ । सुरुमा धुपीका विरुवा रोपेको तीन दिनमा उखेलेर लगेको गुनासो गरेकी महानगरपालिकाकी वातावरण शाखा प्रमुख अनिता न्यौपानेले विरुवा चोरी हुने, भाँचेर लगिदिने, संरक्षण गर्नका लागि स्थानीयले समेत कम चासो दिनेलगायतका समस्या रहेको बताउँछिन् ।
जिल्ला कृषी विकास कार्यालयका पूर्वयोजना अधिकृत बसन्त अर्याल खनालको कार्यबाट सबै स्थानीयले सकारात्मक संदेश लिन आवश्यक रहेको बताए । स्वतस्फूर्त रुपमा नगर राम्रो बनाउने कार्यमा खटिएका ब्यक्तिको पहिचान महानगरले गरि सम्मान गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
महानगरले हाल सोही सडकमा विरुवा हेरचाहका लागि मासिक ज्यालादारीमा ३ जना मालीलाई समेत खटाएको छ । मालीको काम विरुवा सरसफाई गर्ने, माटो र पानी हाल्ने रहेको छ । महानगरपालिकाका अनुसार सोही सडकको दुई वटा क्यारीमा रोपिएका विरुवा हेरचाह संरक्षणका लागि स्थानीय एक नीजि विद्यालयले पनि लिएको छ ।
महानगरपालिकाले नगर सुन्दर बनाउनका लागि यसवर्षपनि योजना अघि सारेको छ । तर, यसपटक कोभिड १९ का कारण वातावरण शाखाले पेश गरेको बजेटमा कटौति हुनसक्ने जनाएको छ ।