पूर्वाञ्चल खबर
सुनसरीको इटहरी – १३ खनारकी २५ वर्षीय सगिरा खातुनको उपचारमा लापरबाही भएको कारणले आज मृत्यु भएको आफन्तको आरोप छ ।
विरामीको मृत्युपछि आक्रोशित भएका आफन्तले दिनभरी नाराबाजी गर्दा अस्पताल तनावग्रस्त बनेको थियो । पीडीतका आफन्तहरुले लापरबाही गर्ने चिकित्सवहरु कारबाही गर्न माग गरेका छन् ।
गर्भवतीकोे मृत्यु भएपछि पीडितहरुको आक्रोसित भिड नियन्त्रण गर्न मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । सामान्य पेट दुखेपछि साउन १७ गते खातुनलाई आफन्तले विराट अस्पतालमा भर्ना गराएका थिए । सामान्य पेट दुखेको भनेर हस्पिटल लगेकोमा उनको भर्ना गरेकी दिन अस्पतालले शल्यक्रिया गरिदिएको मृतकका काका ससुरा रहमलले बताए । पेट मात्र दुखेको विरामीको कसरी मृत्यु भयो भन्ने अस्पतालले जानकारी नदिएको पीडितको भनाइ छ ।
लापरवाही गर्ने चिकित्सकलाई कानुनी रुपमा कारवाही गर्नुपर्ने माग आफन्तको छ । हस्पिटलको स्त्री रोग तथा प्रसूती रोग विशेषज्ञ डा. हनुनी पी पोखरेलको टिमले सगिराको शल्यक्रिया गरेको थियो । अस्पतालका व्यवस्थापक अरविन्द्र मण्डलले विरामीलाई इन्फेक्सन भएर आमा र बच्चाको अवस्था खतरामा परेकोले शल्यक्रिया गरेको र खातुनलाई ‘एक्मसिया’ देखिएकोले बचाउन नसकेको दावी गर्नुभयो ।
अन्त्यसम्म चिकित्सकले सक्दो सम्पूर्ण उपचार गर्दा समेत विरामीलाई बचाउन नसकेको अस्पतालले दावी गरेको छ । विरामी भएकी खातुनमा पोषणको समेत कमी रहेको अस्पताल प्रशासनले जनाएको छ । खातुनको मृत्यु भएपनि उनको नवजात छोरी सकुशल रहेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनले पीडितलाई क्षतिपूर्ती दिने प्रस्ताव गरेपनि विरामीको आफन्तहरुले भने क्षतिपूर्ती मात्र होइन उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई कारबाहीसमेत गर्नुपर्ने माग राखेका छन् । समस्या समाधानको लागि अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भएपछि सहमति हुन सकेको छैन ।