मागुर माछा ल्याउन दिन माग

खबर पूर्वाञ्चल, १ कार्तिक २०७७, शनिबार २०:१८

विराटनगर / विराटनगरका माछा व्यापारीहरूले ‘मागुर’ प्रजातिको माछा आयात गर्न दिनुपर्ने माग गरेका छन् ।

सर्वोच्च अदालतले पनि अल्पकालीन अन्तरिम आदेश दिएपछि सहज रूपमा मागुर माछा आयत गर्न दिनुपर्ने उनीहरूले पत्रकार सम्मेलन गरि यस्तो माग राखेका हुन् ।
पशु सेवा विभागले गरेको निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भन्ने सर्वोच्चको आदेशपछि व्यापारी थप मागुर माछा भित्र्याउन पाउनुपर्ने मागलाई यथावत राखेका हुन् ।

पशु सेवा विभागले गत भदौ १२ गते भारतबाट आयात हुने मागुर माछालाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मानव स्वास्थ्य प्रतिकूल भएकाले विभागले रोक लगाएको हो । विराटनगरमा थोक माछा व्यापारीले यो निर्णयलाई ‘गैरकानूनी’ मान्दै आएका छन् ।

विभागको निर्णयविरुद्ध उनीहरू सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले असोज २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि व्यापारीलाई सहज भएको हो । सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२) को देहाय (ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ । त्यसो त अदालतले कात्तिक २० गते पक्ष र विपक्ष दुवैलाई छलफलका लागि अदालत बोलाएको छ । वैधानिक रूपमा प्रत्येक वर्ष प्रदेश १ को भन्सार नाकाबाट ४ हजार टन मागुर जातको माछा भित्रिने गरेको थोक बिक्रेता एहसान शेखले बताए ।

अवैधानिक रूपमा के कति भित्रिन्छ भन्ने कुनै तथ्याङ्क छैन । सुनसरी प्रहरीले गएको साउनमा झण्डै ७५ सय केजी मागुर प्रजातिको माछा ट्रकमा लोड भएको अवस्थामा पक्राउ गरेको थियो । उक्त माछाको भन्सार भने थोरैको काटेर धेरै माछा भित्राएको तथ्य त्यो बेला पनि सार्वजनिक भएको थियो । जुन माछा स्वास्थ्यका लागि एकदमै प्रतिकूल मानिने त्यो बेला प्रहरी अधिकारीले बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५