पूर्वाञ्चल खबर
काठमाण्डौमा पक्राउ परेका उनलाई सोमवार साढे चार बजे जिल्ला अदालत मोरङमा उपस्थित गराइएको थियो । उनलाई दुई दिनको म्याद थप गरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । ३३ किलो सुन काण्डमा मुछिएका अन्य २२ जनास“ग तारिक मिलाउने गरी निरौलालाई पक्राउ परेको मितिदेखि लागुहुने गरी दुईदिन म्याद थप गरिएको हो ।
निरौला मोरङका पूर्व बासिन्दा हुन् । गत चैत २९ गते ३० बर्षे उमेरहदका कारण अवकास पाएका निरौला जागिरे जीवन सकिएको दुईसाता बित्न नपाउदै ३३ किलो सुनकाण्ड पछिको सनम शाक्य हत्या प्रकरणमा मुछिएका हुन् ।
प्रहरी स्रोतका अनुसार सुन तस्करको समुहलाई सहयोग गरेको पाइएपछि निरौलालाई नियन्त्रणमा लिइएको हो । बिमानस्थलबाट हुने सुन तस्करीमा उनको पनि संलग्नता पाइएको प्रहरी स्रोतको भनाई छ ।
३३ किलो सुन काण्डमा पक्राउ परेका निरौला अहिले सम्मकै उच्च पदस्त प्रहरी हुन् । २०७२/२०७३ मा त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल प्रमुख रहेका डिआईजी निरौला निरन्तर सुन तस्कर गिरोहसँग सम्पर्कमा रहेको स्रोतको भनाई छ । उनकै कार्यकालमा केन्द्रिय अनुसन्धान ब्यूरोले साढे ३३ किलो सुन विमानस्थलबाट बरामद गरेको थियो । निरौला पूर्व क्षेत्रिय प्रहरी कार्यालयमा एसएसपीको रुपमा रहेर काम पनि गरेका थिए ।
सोमवार अदालतमा उपस्थित गराइएका निरौलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । मोरङ प्रहरीको हिरासदमा सुन काण्ड र शाक्य हत्या प्रकरणमा अनुसन्धानकालागि पक्राउ परेकामा अन्य २२ जना अभियुक्त पनि छन् । उनीहरु विरुद्ध ‘ संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान मुद्धामा’ म्याद थप गरि अनुसन्धान गरिदैछ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार अन्य अभियुक्तहरुस“गै उनलाई पनि हिरासतमा राखिएको छ । पूर्व डिआइजी भएकाले केही सुविधा पाउछन की भन्ने प्रश्नमा बिसीले कुनै बिषेश सुविधा उपलब्ध नगराएको जानकारी दिए ।
युएईबाट अबैध रुपमा भित्रिएको ३३ किलो तस्करीको सुन सम्बन्धित व्यक्तीसम्म नपुगी बाटोबाटै गायब भएपछि तस्करको समूहले भरिया सनम शाक्यलाई यातना दिएर हत्या गरेको थियो । ३३ किलो सुन काण्डमा हाल सम्म तीन जना व्यक्तीको ज्यान गइसकेको प्रहरीको भनाई छ । स्रोतका अनुसार गत माघमा थाई एयरवेजका मेकानिकल हेल्पर सानु बमको सवारी दुर्घटना मृत्यु भएको थियो । विमानस्थल भित्रै उनलाई ट्याङकरले किचेको थियो । उनको मृत्युलाई पनि सुन काण्डस“ग नै जोडेर हेरिएको छ ।
तस्करको समुहले शाक्यलाई गत फागुन १९ गते मोरङमा नै यातना दिएर हत्या गरेको थियो भने ३३ किलो सुन काण्डमै पक्राउ परेका प्रेमराज चौधरीले आत्महत्या गरेका थिए । बर्दियाको राज“पुर नगरपालिका–७ घर भएका चौधरीले गत चैत ३० गते प्रहरी हिरासत मै आत्यहत्या गरेका थिए ।
अवैद्ध रुपमा आयत गरिएको सुन सम्बन्धीत ब्यक्तीसम्म नपुगी बाटोबाटै हराएपछि तस्करले सूचना लिने क्रममा भरिया सनम शाक्यलाई यातना दिदा उनको ज्यान गएको थियो । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा चैत अन्तिम साता ३८ जना माथी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको दाहेरा फराकिलो बनाएको प्रहरीले अनुसन्धानलागि जग्गा रोक्का गरेका ३८ जनाको सूचि भन्दा बाहिरका ६ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले हाल आइतवार सम्म २३ जनालाई नियन्त्रणमा लिएको छ । पछिल्लो साता प्रहरीले पक्राउ गरेकाहरुमा पूर्व डिआइजी गोविन्द निरौला, अमरमान ढंगोल, तुराराम थारु, राजन कुमार, राजेन्द्र कुमार र राजन थापा छन् । यस अघि प्रहरीले चाचाजी भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलाई पक्राउ गरेको थियो ।
त्यस्तै मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, र माधव भनिने मदनप्रसाद घिमिरेलाई पनि पक्राउ गरेको थियो । जिल्ला अदालत मोरङबाट उनीहरु मध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागुहुनेगरी १५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको थियो । पक्राउ परेका अन्य ६ जनालाई पनि उनीहरुस“ग मिल्ने गरी समय थप गरिएको छ ।
प्रहरीको फरार सूचिमा ३३ किलो सुन आयात र समन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुणामणी उप्रेती ‘गोरे’ र उनका केही आफन्त पनि छन् । प्रहरीले गत चैत २६ गते अनुसन्धानकालागि ३८ जनाको कारोवार रोक्का गर्न अदालतस“ग आदेश मागेको थियोे । अदालतले चैत २६ गते नै अनुसन्धानकालागि ३८ जनाको बैक खाता, जग्गालगायत सम्पती रोक्का गर्न अनुमति दिएको थियो । संगठित अपराध निवारण ऐन २०७० को दफा १६ अनुसार अदालतले रोक्का गर्न अनुमति दिएको हो ।
प्रहरीलाई चुणमणी उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, संदिप खडका, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतमको सम्पूर्ण कारोवार रोक्न अदालतले अनुमति दिएको थियो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।