AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले उम्मेदवार अग्रवालको चुनावी प्रतिवद्धता सार्वजनिक, विराटनगर जुट मिल्स सञ्चालन गर्ने मुख्य एजेण्डा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०८२, सोमबार १८:१९
90
Shares
विराटनगर / नेकपा (एमाले) का तर्फबाट मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार मनोजकुमार अग्रवालले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी उनले ‘मेरो क्षेत्र, मेरो जिम्मेवारी’ भन्ने नाराका साथ आफ्नो योजनाहरू अघि सारेका हुन् ।

अग्रवालले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ ।

अग्रवालको प्रतिवद्धता पत्रको मुख्य आकर्षण औद्योगिक पुनर्जागरण रहेको छ । विराटनगरमा रहेका ऐतिहासिक तर हाल बन्द अवस्थामा रहेका विराटनगर जुट मिल्सलाई पुनः सञ्चालनमा ल्याउने उनले प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रलाई ‘विराट औद्योगिक क्षेत्र’ घोषणा गरी नयाँ उद्योगहरूको स्थापना र रोजगारी सिर्जना गर्ने उनको लक्ष्य छ ।

रंगेली–विराटनगर जोड्ने हुलाकी मार्गलाई आधुनिक मापदण्ड अनुसार स्तरोन्नति गर्ने र रंगेलीको चोप्राहा हुँदै दक्षिणी सीमा क्षेत्रमा पूर्व–पश्चिम नयाँ सडकमार्ग निर्माण गर्ने योजना अघि सारिएको छ ।

हरेक वडामा नमूना विद्यालय स्थापना गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने र ‘कमाउँदै पढ्दै’ कार्यक्रम लागू गर्ने उनको योजना छ । स्वास्थ्यतर्फ रंगेली अस्पताललाई आधुनिक सुविधासम्पन्न बनाउने र विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

ऐतिहासिक विराट राजाको दरबार क्षेत्र, काली मन्दिर, संसारी माई मन्दिर लगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गरी यस क्षेत्रलाई पर्यटकीय हब बनाउने अग्रवालले बताए ।

वर्षौँदेखि समस्याको रूपमा रहेको भूमिहीन, सुकुम्वासी र दलित बस्तीको समस्या समाधान गरी उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउने र हरेक घरमा स्वच्छ खानेपानी पुर्‍याउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार अग्रवालले आफू यसै क्षेत्रको माटोमा हुर्किएको र यहाँका समस्याहरूसँग प्रत्यक्ष परिचित रहेकाले ती समस्या समाधान गर्न आफू पूर्ण रूपमा प्रतिवद्ध रहेको बताए । उनले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई सूर्य चिह्नमा मतदान गरी विजयी गराउन मतदाताहरूसँग अपील समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर