पूर्वाञ्चल खबर
साधारण सभाका अवसरमा संघले पूर्वअध्यक्षहरू सुरेश शर्मा, देवेन्द्रराज गढिया, ताराचन्द खेतान, नन्दकिशोर राठी, खेमचन्द जैन, शंकरलाल अग्रवाल, महेश जाजु, पवनकुमार सारडा, अविनाश बोहरा र निवर्तमान अध्यक्ष नवीन रिजाललाई सम्मान गरेको छ ।
संघलाई वर्तमान अवस्थामा पुर्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको अध्यक्ष अनुपम राठीले बताए । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र अध्यक्ष राठीले पूर्वअध्यक्षहरूलाई सम्मानपत्र प्रदान गरेका थिए ।
संघले ७५औँ वर्ष प्रवेशसँगै आफ्नो नामसमेत परिवर्तन गरेको छ । यसअघि ‘मोरङ व्यापार संघ’का नाममा रहेको संस्थाको नाम ३३औँ कार्यसमितिका अध्यक्ष नवीन रिजालको कार्यकालमा परिवर्तन गरी ‘मोरङ उद्योग व्यापार संघ’ राखिएको हो ।
संघको इतिहासमा एउटै परिवारका तीन पुस्ताले अध्यक्षको जिम्मेवारी सम्हालेको अर्को संयोग पनि बनेको छ । विराटनगरको राठी परिवारका आस्करण राठी, नन्दकिशोर राठी र अनुपम राठीले क्रमशः तीन पुस्ताबाट संघको नेतृत्व गरेका हुन् ।
पहिलो पुस्ताका अध्यक्ष आस्करण राठीको निधन भइसकेको छ । दोस्रो पुस्ताका नन्दकिशोर राठी र तेस्रो पुस्ताका वर्तमान अध्यक्ष अनुपम राठी भने मंगलबार आयोजित कार्यक्रममा सँगै उपस्थित थिए ।
७५औँ वर्ष प्रवेशका अवसरमा संघले आफ्नो इतिहास, गतिविधि र निजी क्षेत्रसँगको सम्बन्ध समेटिएको ‘७५औँ वर्ष शब्द तथा तस्बिर संग्रह’ दस्तावेज पुस्तकसमेत सार्वजनिक गरेको छ । मुख्यमन्त्री कार्की, संघका अध्यक्ष र पूर्वअध्यक्षहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।
संघले संकटका समयमा निजी क्षेत्रले भोग्दै आएका समस्या उठान गर्दै समाधानका लागि खेलेको भूमिकालाई समेटिएको वृत्तचित्रसमेत कार्यक्रममा प्रस्तुत गरेको थियो ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरूले संस्थाको विगतको भूमिका, निजी क्षेत्रका चुनौती र बदलिँदो आर्थिक परिवेशमा उद्योगी–व्यवसायीका मुद्दा उठाउन संघले निर्वाह गर्नुपर्ने भूमिकाबारे धारणा राखेका थिए ।
७५ वर्षको यात्रामा संघले विराटनगर र कोशी प्रदेशको उद्योग–व्यवसाय क्षेत्रसँगै निजी क्षेत्रका मुद्दा उठाउने संस्थाका रूपमा आफ्नो पहिचान बनाएको अध्यक्ष राठीले बताए ।