AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुन्दरहरैंचाको शैक्षिक महोत्सवमा एक लाख बढीले गरे अवलोकन, ‘शैक्षिक हब’ बनाउने लक्ष्य, सीप र प्रविधिमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ फाल्गुन २०८२, बुधबार १८:४३
171
Shares
प्रथम शैक्षिक महोत्सवमाा सिद्धार्थ माध्यमिक विद्यालयका आदित्य राउत आदिकवी भानुभक्त आचार्यको भेषमा । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / मोरङको सुन्दरहरैंचा नगरपालिकाद्वारा आयोजित ‘प्रथम शैक्षिक महोत्सव’ सम्पन्न भएको छ। गत सोमबारदेखि सुरु भएको तीन दिने महोत्सव आज एक विशेष समारोहका बीच समापन गरिएको हो।

महोत्सवमा नगरभित्रका ८७ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले आफ्ना लुकेका प्रतिभा र सिर्जना प्रस्फुटन गरेका थिए। प्रदर्शनीमा राखिएका एक सयभन्दा बढी स्टलहरूमा विज्ञान–प्रविधि, गणितीय सीप, चित्रकलादेखि मौलिक साहित्यिक कृतिहरू आकर्षणको केन्द्र बनेका थिए।

विशेष गरी सुकुना माध्यमिक विद्यालय, हरैंचा मोडेल, पञ्चायत मावि, प्रभाव किरण र दुलारी मल्टिपललगायतका विद्यालयका विद्यार्थीले प्रस्तुत गरेको गणितीय जादु र कार्यक्षमता प्रदर्शनले अवलोकनकर्ताहरूलाई चकित पारेको थियो। त्यस्तै, सिद्धार्थ र जुपिटर जस्ता विद्यालयका स्टलहरूमा कला र साहित्यको सुन्दर संगम देखिएको थियो। विद्यार्थीहरू प्रसिद्ध साहित्यकारका कृति र आफूले कोरेका चित्रकलाको अध्ययन एवम् प्रदर्शनीमा व्यस्त देखिन्थे।

नगरपालिकाले शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी सीप र व्यवहारसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरेको हो। नगर प्रमुख केदारप्रसाद गुरागाईंले कक्षाकोठाको ज्ञानलाई सीपका माध्यमबाट सार्वजनिक मञ्चमा ल्याउन यो महोत्सव सफल भएको दाबी गरे।

“शिक्षा एउटा लामो प्रक्रिया हो, जसको प्रतिफल तुरुन्तै नदेखिन सक्छ,” समापनका अवसरमा नगर प्रमुख गुरागाईंले भने, “तर शिक्षालाई वैज्ञानिक, गुणस्तरीय र सीपमूलक बनाउनुपर्छ भन्नेमा हामी सबै उत्प्रेरित भएका छौँ। यो महोत्सव एउटा जीवित सिकाइ केन्द्रको रूपमा विकास भएको छ।”

उनले बालबालिकाहरूलाई संस्कार, संस्कृति, भेषभूषा र पुर्खाले प्रयोग गरेका पुराना सामग्रीबारे बुझाउनु महोत्सवको अर्को ठूलो उपलब्धि भएको बताए। नगरपालिकाले ३६ लाख रुपैयाँ लगानी गरेको यस महोत्सवलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता उनले जनाए।

सिद्धार्थ माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले सरकारी स्तरबाट यस्तो बृहत् कार्यक्रम हुनु कोशी प्रदेशकै लागि नमुना कार्य भएको बताए। “सामुदायिक र संस्थागत विद्यालयलाई एउटै मञ्चमा ल्याएर अनुभव साटासाट गर्न पाउनु महत्त्वपूर्ण पक्ष हो,” उनले भने, “यसले सुन्दरहरैंचालाई ‘शैक्षिक हब’ का रूपमा विकास गर्न कोसेढुङ्गाको काम गर्नेछ।”

त्यस्तै, पूर्वाञ्चल एकाडेमीका प्रिन्सिपल दीपेन राईले खुल्ला आकाशमुनि प्रतिभा प्रदर्शन गर्न पाउँदा विद्यार्थीहरूमा नयाँ आत्मविश्वास पलाएको उल्लेख गरे। उनले यस्ता कार्यक्रमले मुलुकको शैक्षिक रूपान्तरणमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
नगरपालिकाका अनुसार तीन दिनको अवधिमा एक लाखभन्दा बढी अभिभावक, विद्यार्थी र सर्वसाधारणले महोत्सवको अवलोकन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर