खबर पूर्वाञ्चल
विराटनगर / नेकपा एमालेको ११औं महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोटको रौनक चलिरहँदा अध्यक्ष केपी शर्मा ओलीको ‘सदाबहार गढ’ मानिने मोरङमा भने अनपेक्षित कम्पन आउने देखिएको छ ।
विगतमा ओलीका लागि ‘मरिमेट्ने’ नेता–कार्यकर्ताको ठूलो पंक्ति नै कित्ता परिवर्तन गरेर पोखरेल क्याम्पमा उभिएपछि मोरङमा ओली पक्ष निरीह बन्ने र इश्वर पोखरेल पक्षले दुई तिहाइ कब्जा गर्ने सम्भावना देखिएको हो ।क्षेत्र नम्बर ५ ले देखायो ट्रेलर
आज भइरहेको प्रतिनिधि छनोटको प्रारम्भिक रुझान हेर्दा ओली पक्षका लागि खतराको घण्टी बजिसकेको छ । मोरङ क्षेत्र नम्बर ५ मा सर्वसम्मत चयन भएका ६ जना प्रतिनिधिमध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले ४ जनामा आफ्नो बर्चस्व जमाएको छ भने अध्यक्ष ओली पक्ष २ जनामा खुम्चिन पुगेको छ ।
एमाले मोरङका एक पदाधिकारीका अनुसार, यो नतिजा सांकेतिक मात्र होइन । जिल्लाबाट निर्वाचित हुने कुल ४६ प्रतिनिधिमध्ये दुई तिहाइ संख्यामा पोखरेल पक्षधर प्रतिनिधिले बाजी मार्ने दाबी गरिएको छ ।
कुन क्षेत्रमा कस्तो छ अवस्था ?
स्रोतका अनुसार मोरङका रणनीतिक मानिने क्षेत्र नम्बर १, २ र ३ मा ओली पक्षको उपस्थिति निकै कमजोर देखिएको छ । क्षेत्र नम्बर २ मा पोखरेल पक्ष एकतर्फी रुपमा हाबी हुने देखिएको छ भने क्षेत्र नम्बर ४ र ६ मा मात्र केही मिश्रित नतिजा आउने अनुमान छ । ओलीको आफ्नै गृह जिल्ला झापाको सिमानासँग जोडिएका क्षेत्रहरूमा समेत पकड गुम्नुले संस्थापन पक्ष झस्किएको छ ।
यो ‘ओली–विरोधी’ लहर मोरङमा मात्र सीमित छैन । एमाले स्रोतका अनुसार झापा र सोलुखुम्बु बाहेक कोशी प्रदेशका अधिकांश जिल्लामा संस्थापन पक्ष कमजोर सावित भएको छ ।
भोजपुर, संखुवासभा, उदयपुर लगायतका जिल्लामा पोखरेल पक्षले बलियो पकड बनाएको छ । अझ रोचक त ओखलढुंगाको नतिजा हुने दाबी गरिएको छ, जहाँ १३ जना प्रतिनिधिमध्ये संस्थापन (ओली) पक्ष ‘शून्य’ हुने र पोखरेल पक्षले ‘क्लिन स्विप’ गर्ने रिपोर्ट बालकोटसम्म पुगेको छ ।
धनकुटामा प्रभावशाली नेता राजेन्द्र राईको पकडका कारण ओलीका विश्वासपात्र शेरधन राईलाई कडा चुनौती थपिएको छ । समग्रमा कोशी प्रदेशको यो समीकरणले झापा र सोलुखुम्बुमा मात्र ओली सुरक्षित रहेको र बाँकी भूगोलमा पोखरेल पक्षले आक्रामक ‘मुभ’ चालेको स्पष्ट हुन्छ ।