animated ellipse animated ellipse

अहिले सिङ्गो विराटनगरको साथ खोजिरहेको छु : सागर थापा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ बैशाख २०७९, मंगलवार १४:४८
612
Shares
विराटनगर / स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) बाट विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका युवा नेता सागर थापाले अहिले आफूले सिङ्गो विराटनगरको साथ खोजिरहेको बताएका छन् ।

चुनावी अभियान चलाउँदै आज विराटनगर महानगरपालिका–५ को रमाइलो टोलमा पुगेका थापाले अहिले महानगरका सबै बासिन्दाको साथ आफूलाई आवश्यक परिरहेको बताए । ‘प्रदेश १ को राजधानी विराटनगरमा अब केही गर्नुपर्छ भन्ने अठोटका साथ म उम्मेदवार बनेर मैदानमा आएको छु । विकास निर्माणदेखि सबै हिसाबले विराटनगरलाई उत्कृष्ट र नमूना शहर बनाउने मेरो योजना छ,’ उनले भने, ‘पछाडि पर्दै गएको ऐतिहासिक, राजनीतिक र औद्योगिक नगरीको गुमेको शाख फर्काउनु छ । म मेरो प्रतिवद्धताबाट कहिल्यै पछि हट्ने छैन ।’

थापाले आम विराटनगरबासीको आशा र उत्साहलाई निराशामा परिणत हुन नदिने कसम पनि खाएका छन् । ‘पदमा नहुँदासमेत मैले विराटनगरको विकासका लागि सकेजति प्रयास गरेको छु । अब चुनाव जिताएर ठाउँमा पुर्याउँदै काम गर्ने वातावरण बनाइदिनुस्,’ मतदातासँग आग्रह गर्दै उनले भने, ‘तपाईंहरुले साथ दिएर मलाई मेयरमा निर्वाचित गराएपछि विराटनगरले पछाडि फर्किएर हेर्न नपर्ने अवस्थाको सिर्जना गर्छु । जनताको दुःखमा सधैँ सहयात्री बनेर अघि बढ्ने छु ।’

सुकुम्बासी समस्या र डुबान विराटनगरको मुख्य चुनौती रहेको उनको भनाइ छ । साथै लामो समयसम्म विराटनगरका भित्री ठाउँमा विकास निर्माणले फड्को मार्न नसकेकोमा थापाले चिन्ता व्यक्त गरे । जनप्रतिनिधि बनेको ५ वर्षभित्रमा विराटनगरको मुहार फेर्ने आफ्नो महत्वपूर्ण योजना र अभियानमा साथ दिएर हातेमालो गर्न थापाले सबैमा आग्रह गरेका छन् ।

‘महानगरको यसअघिको नेतृत्वले चासो नदिँदा विराटनगर विकास निर्माणका हिसाबले पछि पर्यो । जनताले विकास खोज्दा जनप्रतिनिधिले वास्ता गरेनन्,’ उनले भने, ‘मलाई तपाईंहरूले अमूल्य मत दिएर विजयी गराउनुस् । मैले मत दिएर निर्वाचित गराएको जनप्रतिनिधिले उत्कृष्ट काम गर्यो भनेर तपाईंहरुले सधैँभरि प्रशंसा गरिरहने परिस्थितिको सिर्जना गर्छु ।’ आफूलाई भोट हालेर निर्वाचित गराउने जनताले कहिल्यै पनि पछुताउनु नपर्ने थापाको कथन छ ।

विराटनगरको माटोमा भिजेको र तल्लो स्तरसम्म परिचित रहेका कारण अब आफूले जनताको सेवक भएर काम गर्न चाहेको पनि उनले बताए । उनले भने, ‘विराटनगरकै बासिन्दा भए पनि म सुकुम्बासी हुँ । परिवारसहित म डेरामा बस्छु । जनप्रतिनिधि बनेपछि सुकुम्बासीलाई जग्गा दिलाएर उनीहरुलाई घर बनाइदिने छु । डुबानमुक्त विराटनगर बनाउने छु ।’

विराटनगरका जनताको समस्या सम्बोधन नगरी आफूले घर पनि नबनाउने उनले उद्घोष गरेका छन् । थापाले विराटनगरको शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइलगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकाले त्यसमा आफू प्रतिवद्ध भएर अघि बढिरहेको बताए । भने, ‘मैले मेरो जीवन विराटनगरलाई समर्पित गरिसकेको छु । अबको समय विराटनगरलाई सर्वोत्कृष्ट शहर बनाउने अवसरका रूपमा सदुपयोग गर्छु ।’

निर्वाचन जितेपछि सबैको साथ लिएर विराटनगर बनाउने र जनताको आशालाई उत्साहमा परिणत गर्ने अभियानमा होमिने उनको भनाइ छ । ‘मैले प्रतिवद्धता बिर्सिएमा वा वाचा पूरा गर्न नसकेमा जनताले दिएको सजाय भोग्न तयार छु । मलाई जस्तोसुकै कारबाही गरे पनि हुन्छ,’ थापाले भने, ‘तपाईंका लागि विराटनगरको भाग्य र भविष्य निर्धारण गर्ने उत्कृष्ट समय वैशाख ३० गतेलाई तोकिएको छ । काम गर्छुभन्ने प्रण गरेर तपाईंहरुको साथ खोज्दै मैदानमा आएको मलाई कुनै पनि अलमलमा नगरी सहयोग गर्नुस् ।’

सही व्यक्तिलाई ठाउँमा पुर्याउँदा आफ्नो गाउँ सवल, सक्षम र विकसित बन्ने कुराको हेक्का राखेर निर्वाचनमा निर्णय लिन सबै मतदातालाई उनको आग्रह छ । ‘यसअघि चुनाव जितेर काङ्ग्रेसले महानगरको नेतृत्व लिँदा पनि पनि ५ वर्षसम्म केही गर्न सकेन । यो कुरा सिङ्गो विराटनगरले महसुस गरेको र बुझेको छ,’ थापाले भने, ‘विराटनगरलाई सही बाटोमा हिँडाउन अरु दल वा उम्मेदवारले चाहेका छैनन् । तर म जनतालाई विश्वासमा लिएर चुनाव जित्दै विराटनगरको विकासका निम्ति समर्पित भएर सबै ठाउँमा आमसर्वसाधारणको सहज पहुँच स्थापित गराउन चाहन्छु ।’

विकास निर्माणदेखि सबै कुराले कमजोर बनेर गएको विराटनगरमा जनताको मन जित्दै आसाधारण ढङ्गले काम गर्ने एउटा महत्वपूर्ण उद्देश्य र अभियान लिएर आफू अघि बढिरहेको थापाको भनाइ छ । ‘विराटनगर बनाउने महान अभियानमा सरिक हुन म सबैलाई आग्रह गर्छु,’ उनले भने, ‘काम गर्न सकिन भने जनताले दिएको जस्तोसुकै सजाय भोग्न तयार छु ।’

विराटनगर–५ का बासिन्दासमेत रहेका पूर्वशिक्षक केशव अधिकारीले मेयरका उम्मेदवार थापालाई जिताउन सिङ्गो गाउँ नै एकजुट बनेको बताए । ‘गाउँमा विभिन्न दलमा आवद्ध रहेकाहरुको बसोबास छ । हिजो को कहाँ र कुन दलमा थियौँ भन्ने कुरा अब रहेन,’ उनले भने, ‘विराटनगरको मेयरमा उम्मेदवारी दिएकामध्ये थापालाई उत्कृष्ट उम्मेदवारका रूपमा पाएका छौँ । सिङ्गो गाउँ मिलेर उनलाई जनप्रतिनिधि बनाउने अभियान हामीले चलाइरहेका छौँ ।’

माओवादी पृष्ठभूमिका शिक्षक अधिकारी विराटनगरलाई समृद्ध शहर बनाउन थापाको विकल्प आफूहरुले नदेखेको बताउँछन् । ‘राजनीतिक हिसाबले पार्टी आफ्नो ठाउँमा होला । गाउँमा काङ्ग्रेस, एमाले, माओवादी, जसपा सबै दलमा आवद्ध रहेकाहरुको बसोबास छ,’ पूर्वशिक्षक अधिकारीले भने, ‘अहिले पूरै गाउँ मिलेर ‘सागर थापा जिताउ अभियान’को एकसुत्रीय मुद्दा बोकेर हामी हिँडेका छौं । स्थानीय निर्वाचनमा जसरी भए पनि विजयी गराएर गाउँको विकास गरेको हेर्न चाहन्छौँ ।’

स्थानीय सुदीप लम्साल थापाजत्तिको युवा उम्मेदवारले चुनाव जित्दा विराटनगरलाई फाइदा पुग्ने बताउँछन् । ‘मान्छेलाई धनी र गरिब भनेर नछुट्याउने तथा सबैलाई समान व्यवहार गर्ने थापाको स्वभाव छ । राजनीतिक अभियानका क्रममा थापाले आफूलाई विराटनगरभित्र स्थापित गराइसकेका छन्,’ लम्सालले भने, ‘सबै जनतासँग उत्तिकै सम्बन्ध राख्ने र जनसम्पर्कमा रहिरहने थापाको उम्मेदवारीले सबैलाई उत्साहित बनाएको छ । यो उत्साहलाई यथार्थमा परिणत गर्न हामी युवा सक्रिय भएर लागेका छौँ ।’

परिवार र नातावादमा अल्झिएका कारण सत्तारुढ गठबन्धनले मुलुकका लागि केही पनि गर्न नसक्ने निस्कर्ष सिङ्गो गाउँले निकालेको स्थानीय बालकृष्ण दाहालले बताए । ‘मुलुक र जनताका लागि काम गर्ने हो भने गठबन्धनका नाममा परिवारका सदस्यलाई किन अघि सारियो ?,’ प्रश्न गर्दै उनले भने, ‘पहिल्यैदेखि काङ्ग्रेसलाई साथ दिइरहेका हामी युवा अब गठबन्धनको विकल्प खोज्दै छौँ ।’ मुलुकको पछिल्लो राजनीतिक परिस्थितिले देश बनाउन एमालेबाहेक अरुबाट सम्भव हुने छाँटकाँट नदेखिएपछि पार्टी परिवर्तनको अवस्थामा आफूहरु पुगेको दाहाल बताउँछन् ।

विराटनगरको उपमेयरमा एमालेबाट शिल्पा निराला कार्कीको उम्मेदवारी परेको छ । एमालेको प्रतिस्पर्धी मानिएको सत्तारुढ गठबन्धनबाट मेयरमा काङ्ग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका उमरेन्द्र यादव (पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा)ले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर