खबर पूर्वाञ्चल
प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका–६, कटान बगर क्षेत्रबाट ११ सय केजी गाँजा बरामद गरेको छ । सिमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टहरू र नेपाल प्रहरीको स्थानीय युनिटको संयुक्त टोलीले मङ्गलबार राति ३८ पोका गाँजा बरामद गरेको हो ।
विशेष अप्रेसन गरी बगर क्षेत्रमा बालुवामुनि लुकाइ राखिएको अवस्थामा प्लास्टिकको बोरा भित्र गाडेको एक हजार १२० किलो गाँजा फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यसैगरी मोरङ प्रहरीले पनि ग्रामथान गाउँपालिका–७ कलाबन्जार चोकबाट ३ सय ४७ किलोग्राम १ सय १० ग्राम गाँजा बरामद गरेको हो । गाँजाको ओसारपसार र कारोबारमा संलग्न भारतीय नागरिकसहित २ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामत रहेका छन् ।
इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको सई नीरबहादुर खड्का नेतृत्वको टोलीले दुवै जनालाई मंगलबार राति ११ः४५ बजेतिर नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ गर्दा उनीहरु प्रदेश १–०४–००१ प ९८३५ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीका अनुसार कामत मोटरसाइकल चालक हुन् । मोटरसाइकल रोकेर बसिरहेको शंकास्पद अवस्थामा नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्दा उनीहरुले गाँजा लुकाएर राखेको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेकाहरुको बयानका आधारमा बुधबार दिउँसो गाँजा बरामद गरिएको हो ।
डीएसपी जोशीका अनुसार साह र कामतलाई नियन्त्रणमा लिइएको स्थानबाट करिब ३ सय मिटर उत्तरमा ‘ह्युम पाइप’मा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । प्लाष्टिक र बोराका १२ वटा पोकामा ‘प्याक’ गरेर लुकाइएको अवस्थामा गाँजा फेला परेको उनले बताए ।
गाँजा बरामद गरेर तौल गर्दा ३ सय ४७ किलो १ सय १० ग्राम थियो । बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान खोजिएको हो भन्ने यकिन भइसकेको छैन । यद्यपि, पूर्वी पहाडी जिल्लामा उत्पादन भएको गाँजा भारततिर कटाउने योजनासहित ल्याइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।