खबर पूर्वाञ्चल
व्यवस्थापन शिक्षाको क्षेत्रमा उत्कृष्ट कलेजको रूपमा परिचित यस संस्थाले १९ औं ब्याचका ७१३ जना विद्यार्थीहरूलाई शुक्रबार एक भव्य समारोहमाझ विदाई गरेको हो।
कार्यक्रममा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विद्यार्थीहरूलाई उनीहरूको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरे । उनले विद्यार्थीहरूको मेहनत र लगनशीलताको प्रशंसा गर्दै आगामी दिनमा उनीहरूले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे । ‘यहाँहरू सबै आजको युवा पुस्ता मात्र होइन, देशका भविष्य हौ,’ प्रिन्सिपल ढकालले भने, ‘तपाईंहरूले यहाँ आर्जन गरेको ज्ञान र सीपले तपाईंहरूलाई जीवनको हरेक मोडमा सफलता प्राप्त गर्न मद्दत गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।’
प्रिन्सिपल ढकालले कलेजले आगामी शैक्षिक सत्रदेखि विज्ञान संकायको पठनपाठन पनि शुरू गर्ने घोषणा गरे । हालसम्म व्यवस्थापन संकायमा मात्र पठनपाठन हुँदै आएको कलेजले अब विज्ञान संकायमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्ने उनले बताए । नयाँ भर्ना अभियानसँगै विज्ञान संकायको पठनपाठनलाई पनि प्राथमिकतामा राखिने र व्यवस्थापन संकायजस्तै विज्ञान संकायमा पनि विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदान गरिने उनको भनाइ थियो । मेरिल्याण्ड कलेजका प्राध्यापकहरूले विद्यार्थीहरूको सफलताको लागि निरन्तर मेहनत गर्ने प्रतिबद्धता जनाए । उनीहरूले विद्यार्थीहरूको प्रतिभा र क्षमतालाई निखार्न संस्थाले हरसम्भव प्रयास गरेको बताए ।
‘हामी हाम्रा विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि सदैव प्रतिबद्ध छौं,’ कलेजका निर्देशक भेषराज पोखरेलले भने, ‘उनीहरूको सफलता नै हाम्रो सफलता हो ।’
शिक्षा क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सेवारत मेरिल्याण्ड कलेज विराटनगर क्षेत्रमै व्यवस्थापन शिक्षाको अग्रणी संस्थाको रूपमा परिचित छ । प्रत्येक वर्ष यस संस्थाबाट सयौं विद्यार्थीहरू उच्च शिक्षा हासिल गरी राष्ट्र निर्माणमा योगदान पु¥याउँदै आएका छन् ।
विदाई समारोहमा विद्यालयका अध्यक्ष गुणराज लुईटेल, निर्देशकहरू प्राडा पिके झा, भेषराज पोखरेल र डा. मनोज गुप्तालगायतकाको उपस्थिति रहेको थियो । सबै अतिथि वक्ताहरूले विद्यार्थीहरूलाई उनीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना दिँदै आगामी जीवनमा सफलता मिलोस् भन्ने कामना व्यक्त गरे ।
विदाई समारोहमा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । गीत, नृत्य, कविता र विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई थप रोचक र स्मरणीय बनाएको थियो । विद्यार्थीहरूका प्रस्तुतिहरूले उपस्थित शिक्षक र अतिथिहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो ।