खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा स्ववियू सभापतिका उम्मेद्वार योगराज दाहाल, आयुश दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह, केन्द्रीय सदस्य पूजा विश्वासलाई पक्राउ गरेको हो । उनीहरुले बुधबार दिउँसो क्याम्पसभित्रको निर्वाचन कार्यालय भित्र आगजनी गरेर निर्वाचन अधिकृत डा. शुशिलकुमार अधिकारीलाई थुनिदिएका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई विराटनगरस्थित मुनालपथ नजिकबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘क्याम्पस भित्रको निर्वाचन कार्यालयमा आगजनी गर्ने समूहलाई हामीले नियन्त्रणमा लिएको छ । अहिले मोरङ प्रहरीमा ल्याएर घटनाको अनुसन्धना भइरहेको छ,’ डिएसपी जोशीले भने ।
स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका दुई खेमाले छुट्टाछुट्टै मनोनयन दर्ता गरेपछि विवाद चुलिएको छ ।
महेन्द्र मोरङ क्याम्पसको स्ववियू निर्वाचनमा कांग्रेस नेता डा.शेखर कोइराला समूहको नै दुई नेता विभाजित भएपछि विवादले उग्ररूप लिँदै गएको छ । महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूको भनाइ अनुसार कोइराला पक्षका नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्की र कांग्रेस मोरङ उपसभापति तथा विराटनगर महानगर प्रमुख नागेश कोइराला दुई समूहमा बाँडिएकाले विद्यार्थीबीच विवाद बढेको हो ।
कार्की अर्थात् शेखर कोइराला समूहबाट योगराज दाहाल र संस्थापन तथा उपसभापति कोइरालाको समर्थन रहेको प्रज्वलजंग विष्टको प्यानलले छुट्टाछुट्टै मनोनयन दर्ता गराएको छ । संस्थापन अर्थात उपसभापति कोइराला पक्षलाई नेविसंघ केन्द्रीय कार्यालयले आधिकारिक्ता दिएपछि कोइराला अर्थात् कार्की पक्षको खेमालाई निर्वाचन समितिले स्वतन्त्रबाट नामावली प्रकाशन गरिदिएपछि आक्रोशित विद्यार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा आगजनी गर्दै तालाबन्दी गरेका हुन् ।
नेविसंघका मोरङ सभापति सरोज पोखरेलले निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयको फर्जी लेटरप्याड प्रयोग गरी बनाइएको आधिकारिताका आधारमा मध्यरातमा स्वतन्त्र उल्लेख गरी नामावली प्रकाशन गरिदिएकोले विवाद बढेको बताए । ‘हाम्रो आधिकारिकतालाई चुनैती दिएकाले तालाबन्दी गरेका हौँ,’ उनले भने ।
मोरङ क्याम्पसमा यसअघि इकाइ गठनको विषयमा विवाद भएपछि नेविसंघका दुई खेमाले एकआपसमा कुटाकुट गरेका थिए ।