खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा विहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ ।
दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर–४ का प्रल्हाद रायसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि केहीबेर कोशी लोकमार्ग अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी छेदीलाल कामती, वडा प्रहरी कार्यालयबाट डीएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट इन्सपेक्टर सुमन न्यौपानेको नेतृत्वमा खटिएको संयुक्त टोलीले लोकमार्ग खुलाएको छ । अहिले लोकमार्ग सुचारु रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया