खबर पूर्वाञ्चल
ईस्ट्रन कलेज अफ इन्जिनियरिङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सरकारी र निजी सबै क्षेत्रमा दक्ष जनशक्ति अभाव रहेको उल्लेख गरे । उनले विराटनगर महानगरपालिकामा पनि दक्ष जनशक्तिको अभाव रहेको बताए ।
क्षमता भएका र सीप भएका युवाहरु विदेश पलायन हुँदा मुलुकको विकासमा समेत बाधा पुगिरहेको उनको भनाइ थियो । “हरेक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ, यहाँ इन्जिनियरले गर्नुपर्ने काम ओभरसेरले गरिरहेको छ, अनि कसरी गुणस्तरीय काम हुन्छ,” उनले भने, “युवा पलायन रोक्न महानगरले कस्तो नीति ल्याउनुपर्छ हामी ल्याउन तयार छौं । यसमा एउटाको मात्रै होइन तीनै तहको सरकारको भूमिका आवश्यक देख्छु म ।” दक्ष जनशक्ति अभावकै कारण विकास निर्माणका काम गुणस्तर नभएको उनको भनाइ थियो ।
इन्जिनियरिङ अध्ययन गर्न कलेजमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालमा पनि थुप्रै अवसर रहेको उल्लेख गरे । “तपाईंहरुमध्ये धेरैको सोच होला इन्जिनियर भएपछि विदेश जाने अनि उतै सेटल हुने,” मेयर कोइरालाले भने, “म देश बनाउन पढ्दैछु । म यही देशमा जागिर राख्छु भनेर तपाईं आजै प्रण गर्नुहोस् ।” कार्यक्रममा विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेयर कोइरालाले सम्मानसमेत गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यसँगै गीतसमेत प्रस्तुत गरेको थिए ।
तपाईको प्रतिक्रिया