खबर पूर्वाञ्चल
दुहबी नगरपालिकाको आयोजनामा करुणा फाउण्डेसन नेपाल र फिमेल क्यान्सर फाउण्डेसन, नेदरल्याण्ड्सको सहयोगमा सीसीएसपी तालिम प्राप्त स्वास्थ्यकर्मीहरुका लागि स्थलगत कोचिङ्ग र भिआइए जाँच शिविर शनिबार आयोजना गरिएको हो ।
उक्त शविरमा ५५ जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको करुणा फाउण्डेसनका कार्यक्रम अधिकृत रोश्नी श्रेष्ठले जानकारी दिइन् । भिआइए जाँच गरिएको मध्ये एक जना महिलाको पाठेघरको मुखको क्यान्सर प्रराम्भिक चरणमा देखिएको स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. रमेश श्रेष्ठले जानकारी दिए । जाँचका लागि आएका महिलाको पाठेघरको जाँच गर्ने क्रममा शंका लागेका महिलाको भिआइए जाँच गर्दा एक जना महिलाको पाठेघरमा पहिलो चरणको क्यान्सर देखिएको उनले बताए ।
क्यान्सर प्रारम्भिक अवस्था पत्ता लगाएर सही उपचार गर्न सकियो भनेपछि गएर हुने जटिल खालको पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने डा. श्रेष्ठले बताए । ‘पाठेघरको मुखको क्यान्सर गराउने भनेको एउटा भाइरस एचपीभी हो, जसको ५० प्रतिशत एचपीभी १६ र एचपीभी १८ कै कारणले हुन्छ । यो भाइरस सर्ने भनेकै यौन सम्पर्कबाट हो । धेरैजसो मानिस सुरुवाती यौनसम्पर्क गर्दा नै यो भाइरसबाट संक्रमित हुन्छन् र लगभग ९० प्रतिशतमा यो संक्रमण आफै ठिक भएर जान्छ,’ उनले भने, बाँकी १० प्रतिशतमा भने सुरुमा देखिने प्रिक्यान्सरेज लेजन हुँदै जटिल खालको क्यान्सरसम्म हुने गर्दछ ।’ सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गराउन उत्तम मानिन्छ । ३० वर्षको उमेरदेखि भीआईए टेस्ट गर्न सुरु गरेर ३ देखि ५ वर्षको फरकमा ६५ वर्षको उमेरसम्म नियमित रूपमा गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
करुणा फाउण्डेसन नेपालले यसअघि पनि सुनसरी र इलामको विभिन्न स्थानहरुमा निःशुल्क भिआइए विधि द्धारा पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर गर्दै आएको फाउण्डेसनकी मिना खनालले बताइन् । महिलाको स्वास्थ्य नै धन हो भन्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताइन् ।
तपाईको प्रतिक्रिया