खबर पूर्वाञ्चल
साउन ११ देखि १९ गतेसम्म सञ्चालन भएको उक्त तालिममा ३१ जना विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए । तालिमको समापन सोमबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीहरूले तालिममा सिकेको सीप भविष्यका लागि महत्त्वपूर्ण सम्पत्ति हुने बताए । ‘आजको युगमा किताबी ज्ञान मात्र पर्याप्त छैन, व्यावहारिक र जीवनोपयोगी सीपले नै विद्यार्थीहरूलाई सक्षम र आत्मविश्वासी बनाउँछ । मोडर्न एरा स्कुलले आयोजना गरेको यो तालिमले विद्यार्थीहरूको व्यक्तित्व विकासमा इँटा थप्ने काम गरेको छ र यो सिप भोलि समाजका लागि एक महत्त्वपूर्ण सम्पत्ति बन्नेछ ,’ उनले भने । अध्यक्ष श्रेष्ठले विद्यार्थीहरूलाई सिकेको ज्ञानलाई निरन्तर अभ्यास गर्न र परिष्कृत गर्दै लैजान आग्रह गरे ।
कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल इन्द्र राईले विद्यार्थीहरूको सर्वाङ्गीण विकास नै विद्यालयको प्रमुख लक्ष्य रहेको बताए । उनले भने, ‘हामी हाम्रा विद्यार्थीहरूलाई शैक्षिक रूपमा मात्र नभई व्यावहारिक र सामाजिक रूपमा पनि अब्बल बनाउन चाहन्छौं । यही उद्देश्यले हामीले यो तालिम आयोजना गरेका हौं र यसले विद्यार्थीहरूको आत्मविश्वास बढाएको हामीले महसुस गरेका छौं । ’ प्रिन्सिपल राईले निकट भविष्यमै विद्यार्थीहरूद्वारा सञ्चालित ‘मोर्डन एरा, हाम्रो कुरा’ नामक पोडकास्ट पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
स्कुलका अध्यक्ष गोविन्द निरौलाले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हरेक विद्यार्थीमा कुनै न कुनै विशेष प्रतिभा लुकेको हुन्छ । विद्यालयले त्यस्तो प्रतिभा पहिचान गरी त्यसलाई निखार्नका लागि उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्छ । यो तालिम त्यही दिशामा चालिएको एक महत्त्वपूर्ण कदम हो ।’
तालिमका प्रशिक्षक पत्रकार मिनकुमार नवोदितले एक हप्ताको छोटो अवधिमा पनि विद्यार्थीहरूले देखाएको लगाव र प्रगति प्रशंसनीय रहेको बताए । उनले तालिमले विद्यार्थीहरूको सञ्चार सीप, मञ्चमा बोल्ने कला र अन्तर्वार्ता दिने क्षमतामा उल्लेखनीय सुधार ल्याएको धारणा राखे ।
सोही अवसरमा विद्यार्थीहरूलाई समाचार लेखनसम्बन्धी एकदिने तालिम पनि प्रदान गरिएको थियो । उक्त तालिमको सहजीकरण पत्रकार अनिल श्रेष्ठले गरेका थिए ।
कार्यक्रम संयोजक अर्जुन तिम्सिनाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने स्कुल क्याप्टेन साइमन कार्कीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको सञ्चालन भूमिका थापा मगर र नुना निरौलाले गरेका थिए । उनीहरूको सञ्चालनले तालिमको व्यावहारिक सफलतालाई प्रमाणित गरेको थियो ।