प्रदेश १ को उपसभामुखमा एमालेकी दनुवार निर्वाचित

खबर पूर्वाञ्चल, ३० पुष २०७९, शनिबार १७:२०
324
Shares

विराटनगर / नेकपा एमालेकी ४६ वर्षीया सिर्जना दनुवार प्रदेश १ को उपसभामुखमा निर्वाचित भएकी छिन् ।

आज दिउँसो बसेको प्रदेश १ को प्रदेश सभाको बैठकमा सभामुख बाबुराम गौतमले दनुवारलाई उपसभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभामुख गौतमले प्रदेश सभामा तत्काल रहेका ९३ जना प्रदेशसभा सदस्यहरू मध्ये सभामुखबाहेक ९० जनाले मतदानको प्रक्रियामा सहभागी भएको र उल्लेखित सदस्य संख्यामध्ये दनुवारलाई उपसभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा ५७ मत र विपक्षमा ३३ मत प्राप्त भएको सभालाई जानकारी दिए ।

दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेका थिए ।

प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन् । सत्ता गठबन्धन दल एमाले, माओवादी, राप्रपा र जसपाको गरी ६० मत हुन्छ ।

यद्यपि सभामुखले तटस्थ बसे भने एमालेका दुई सांसद अनुपस्थित रहे । उमाकान्त गौतम र मीना श्रेष्ठ अनुपस्थित भए ।

यसैबीच यसअघि उपसभामुख पदकै लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत परेको थियो । उनको विपक्षमा ५७ मत परेपछि राई उपसभामुखमा पराजित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए ।

उपसभामुखमा निर्वाचित दनुवार भने उदयपुरबाट समानुपातिक कोटाबाट निर्वाचित भएकी हुन् । संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।

संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५