खबर पूर्वाञ्चल
दमक – १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत रहेका ३२ वर्षीय सर्जन डा. प्रज्जवल कोइरालाको शव मंगलबार अपराह्न फेला परेको हो।
उनको शव बराहक्षेत्र नगरपालिका २ स्थित कोशीको भंगालोमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए ।
‘शव सडेगलेको अवस्थामा फेला परेको छ, आफन्तले शव पहिचान गर्नुभएको छ,’ फुयाँलले भने। कोशीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । आफन्तले शवको पहिचान गरेपछि पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
उनी भदौ १० गते राति सप्तकोशी नदीको छेउमा कार छोडेर बेपत्ता भएका थिए। बेलका नगरपालिका ८ मा कार पार्किङ गरेर कोइराला बेपत्ता भएका थिए। सप्तकोसी नदीको पुलको बीच भागमा जुत्ता, मोजा र मोबाइल भेटिएको थियो।
कोइराला ट्रमा सेन्टरमा सेवा गर्नुअघि उर्लाबारीको अरनिको अस्पताल र दमकको लाइफलाइन अस्पतालमा काम गर्थे। उनले आत्महत्याको बाटो रोज्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।