विराटनगर १९ घर भएकी २९ वर्षीय प्रियंका सुनवार साहको हत्या आरोपमा प्रहरीले उनका श्रीमान २९ वर्षीय रमेश साहसहित तीन जनालाई पक्राउ गरेको हो । मोरङ प्रहरीले साहसहित कटहरी गाउँपालिका ५ का रमानन्द राम र कटहरी ५ का ३५ वर्षीय उमेश सरदारलाई अनुसन्धानको लागि आज पक्राउ गरेको जनाएको छ । पक्राउ परेका रमानन्द शव व्यवस्थापनको लागि एम्बुलेन्स खोज्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । सुरुमा प्रहरीले उनलाई पक्राउ गरेपछि हत्या गरेर शव फेला पारेको थियो ।
प्रिंयकाको आज दिउँसो मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीमा नर्सिङ चौधरीको घरको ग्वालीमा बोरा भित्र शव भेटिएको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी दिए । अहिले घटनाको अनुसन्धान भइरहेको छ । प्रारम्भिक चरणको अनुसन्धानबाट पारिवारिक कारणले हत्या भएको देखिएको उनले बताए । ‘थप अनुसन्धानपछि अरु खुल्नेछ,’ उनले भने ।
प्रियंकाको हत्या हिजो दिउँसो २ देखि ३ बजेको बिचमा भएको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन् । शव भेटिएको घरधनी चौधरी र रमानन्द पहिला देखिको चिनजान रहेको थियो । त्यही भएर रमानन्दको माध्यमबाट रमेशले मोटरसाइकलमा हालेर श्रीमती प्रियंकालाई लिएर गएको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन् ।
स्थानीयवासी तथा जनप्रतिनिधि मिना विश्वासले घटनाको बारेमा जानकारी दिए अनुसार आइतबार उक्त घरमा दुई जना युवाहरू आएका थिए । केही समयपछि चौधरीसँग चिनजान भएका अर्का एक व्यक्तिले मोटरसाइकलमा राखेर महिलालाई त्यहाँसम्म ल्याएर छोडेका थिए । महिलालाई लिएर आएका व्यक्ति र घरधनी चौधरी घर बाहिर निस्केपछि दुई जना केटा र महिला घरमा थिए ।
एक घण्टापछि चौधरी घरमा आउँदा दुई जना केटाहरू मात्रै भेटिएका थिए । उनीहरू त्यसपछि गए पनि महिलालाई चौधरीले नभेटाएको दाबी गर्दै आएका छन् । तर, चौधरीको घर परिसरमै रहेको ग्वालीमा थुपारिएको पराल र भुसको थुप्रो भित्र बोरामा हालेको अवस्थामा महिलाको लास आज फेला परेको हो । महिलाको घाँटीमा नीलडाम र कानमा कोट लागेको छ ।
प्रियंकालाई त्यहाँसम्म उनका श्रीमान रमेश साहले लगेको हुनसक्ने देखिएको छ । साहले उनलाई त्यहाँ लिएर पुग्नु अगाडी दुईजना युवा चौधरीको घरमा पुगिसकेको देखिन्छ । मृतक सुनवारलाई त्यहाँ भएका दुईजनासँग छोडेर पु¥याउन जाने र घरधनी समेत बाहिर निस्केको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरु हिडेपछि दुईजनाले हत्या गरेर बोरामा पोको पारेर ग्वालीमा राखेर हिडेका थिए । जसमध्ये एकजना कटहरी ५ का ३५ वर्षीय उमेश सरदार रहेको खुलेको छ ।
घटनाको विषयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार योजनावद्ध रुपमा महिलाको हत्या भएको देखिन्छ । घटनामा कसको कस्तो संलग्नता छ भन्ने यकिन अझैसम्म भएको छैन । प्रहरीले पक्राउ परेकामध्ये दुईजनाको मात्रै नाम सार्वजनिक गरेको छ । एकान्त स्थानमा रहेको चौधरीको घरमा घटना गराउने योजना कसरी बन्यो भन्ने यकिन भईनसकेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
तपाईको प्रतिक्रिया