खबर पूर्वाञ्चल
मोरङको कटहरी–३ चम्राहीस्थित मदरसामा बुधबार आयोजित चुनावी सभामा उम्मेदवारलाई प्रश्न गर्ने २१ वर्षीय शंकरकुमार साफीलाई नेताहरुले नै कुटपिट गरेका हुन् । सत्ता पक्षीय गठबन्धनको सभामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमनलाल मोदीले मन्तब्य राखेपछि साफीले ‘१० वर्ष सांसद भएर के के विकास गर्नुभयो ?’ भनेर प्रश्न गरेका थिए । मोदीले पनि सडक, विद्यालय बनाएको जवाफ दिए ।
तर, नचिनेको युवकले प्रश्न गरेको भन्दै स्थानीयले उनका बारे खोजबिन गर्दा साफी सुनसरी कोशी गाउंपालिका–७ हरिपुर घर भई कटहरीमा डेरामा बसेको जानकारी पाएका थिए । ‘वडाध्यक्ष जदुलाल कामतसहितका ४, ५ जनाले कुटपिट गर्दै कार्यक्रमबाट बाहिर निकाले’ साफीले भने–‘पिट्दा पिट्दै उनीहरुले सोधे फेरि प्रश्न गर्छस् ?’ ‘मैले पनि गर्छु भनें’ उनले बताए । कुटपिट सुरु भएपछि कार्यक्रम निरन्तर हुन नसकेको बताइएको छ ।
साफीलाई लछारपछार पार्दै पुनः कार्यक्रम स्थलमा लगियो । माओबादीका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार मोदीले चिया खान र गफ गर्न आग्रह गर्दा साफीले अस्विकार गरेका थिए । आजसम्मा चुनावमा भोट नै नहालेको मानिस भएकाले बिभिन्न जिज्ञाशा लिएर नेता समक्ष पुग्दा कुटाइको जवाफ पाएकाले मोदीले चिया खान भन्दापनि आफुले नमानेको उनको भनाई छ ।
‘नेता आए भनेर जिज्ञाशा लिएर गएको थिएं, प्रश्न सोध्दा कुटाइ खाइने रहेछ, राजनीति बुभ्mने मेरो चाहना थियो’ साफीले भने । घटनापछि गठबन्धनका कार्यकर्ताले साफीलाई प्रहरीमा बुझाएका थिए । उनलाई नियन्त्रणमै नराखी छाडिएको मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताए ।
उनी विज्ञान संकायमा भर्खरै दस जोड २ सकेर स्नातकको तयारी गर्दै गरेका युवा हुन् । दैकिन ६० जना विद्यार्थीलाई उनी ट्युसन पढाउंदै आएका छन् । नेतालाई नौलो मानिसले प्रश्न गरेको र पुराना कार्यकर्ता भएकैले कुटपिट गर्नु दुःखदायी भएको नेकपा (एमाले) कटहरीका अध्यक्ष राम राजवंशीले बताए ।
अपरिचित युवकले हातमै प्रश्न लेखेर ल्याएको र मोबाइलले रेकर्ड गरेकाले स्थानीयले अवरोध गरेको मोदीका स्वकीय सचिव उमेश ढुङ्गानाको भनाइ छ । मोदीको मोबाइल फोनमा सम्पर्कमा आएका उनले ती युवक कोहीबाट परिचालित भएको हुन सक्ने बताउंदै कुटपिट नभई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए । स्थानीयले भनें संविधानसभा हलमै कुर्सी उठाएर भाँच्ने मोदीलाई सर्वसाधारणको प्रश्न भारी भएको उनको कमजोरी बताए ।